© 2026
मणिग्राम, २० मंसिर।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३, बिर्घाका बासिन्दा ८४ वर्षीय केशरी पाण्डेको सहस्रचन्द्र दर्शन उत्सव (चौरासीपूजा) यस वर्ष विशेष र भावनात्मक क्षणले भरिएको रह्यो। उत्सवका अवसरमा नातेदाजुभाइ–ज्वाइँहरूले नेपालमै दुर्लभ मानिने अनौठो उपहार प्रदान गर्दै उहाँकै जीवनीसहितको ५२ पृष्ठको रंगीन पुस्तक सार्वजनिक गरे ।
धोवादीखोला तटमा आयोजित पूजाको मुख्य समारोहमा ड्राइभरटोल–रूपन्देहीका तोलाकान्त भण्डारी, बुटवल–पोखराबारीका उपप्राध्यापक भेषराज ढकाल र काठमाडौँ–सोह्रखुट्टेका छायाँदत्त खरालले गोप्य रूपमा पुस्तक प्रकाशन गरी चकित पार्ने शैलीमा केशरी पाण्डेकै हातबाट विमोचन गराए। परिवारका सदस्यदेखि कार्यक्रमस्थलमा उपस्थित सयौँ आगन्तुक पुस्तक देखेर आश्चर्यचकित बने।
विमोचन कार्यक्रम साहित्यकार तथा सामग्री संकलक खगेन्द्रप्रसाद बस्यालको सञ्चालनमा सम्पन्न भयो। पूर्वसांसद मोहनप्रसाद पाण्डेय, परिवारका ज्येष्ठ सदस्य तथा प्रकाशकहरूका उपस्थितिमा पुस्तक संयुक्त रूपमा सार्वजनिक गरिएको थियो।
प्रकाशक तथा वास्तु कन्सल्टेन्ट तोलाकान्त भण्डारीले ज्वाइँको भूमिका परम्परा र समाजमा दायित्वपूर्ण मानिँदै आएको उल्लेख गर्दै, “ज्वाइँहरू केवल दातव्य ग्रहण गर्ने मात्र होइनन्, छोरासरह कर्तव्य निर्वाह गर्ने पात्र हुन्। त्यसैले हामीले यो कृति जीवनको सम्मानस्वरूप अर्पण गरेका हौं,” भने।
उपप्राध्यापक भेषराज ढकाल र छायाँदत्त खरालले पुस्तकलाई परम्परा, दर्शन तथा शास्त्रीय दृष्टिकोणले ज्वाइँलाई छोराको विकल्प रूपमा स्थापित गर्ने सामाजिक जागरणको संदेशसहित प्रकाशित गरिएको बताए।
पुस्तकमा केशरी पाण्डेको जीवन यात्रा, चौरासीपूजाको धार्मिक–सामाजिक महत्व, पारिवारिक शान्तिका लागि वास्तुविज्ञानको चर्चा, कुल–वंशको genealogy, विस्तृत पारिवारिक सञ्जाल, आफन्तका शुभकामना तथा उहाँले गरेका देश–विदेश यात्राका तस्वीरसम्म समावेश गरिएका छन्।
पुस्तकको सामग्री भानिज तथा साहित्यकार खगेन्द्रप्रसाद बस्यालले संकलन गरेका हुन् भने नाति मुक्तिनाथ गैह्रेले सम्पादन गरेका छन्।
मूलपूजक केशरी पाण्डेका छोरा ताराप्रसाद पाण्डे, बुहारी भगवती पाण्डे तथा छोरीहरू– लक्ष्मी भण्डारी, तुलसा ढकाल र सीता खरालसहित नाति–नातिनाले “अनपेक्षित तर हृदयस्पर्शी उपहारले चौरासीपूजामा नौलो आयाम थपिएको” उल्लेख गर्दै प्रकाशकप्रति आभार व्यक्त गरे।

