© २०२३
सल्यान, २० मङ्सिर ।
सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ मा जन्मिएर विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाएका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । सम्मानपश्चात् उनीहरूले सङ्घर्ष र सफलताको अनुभव बाँड्दै सामुदायिक विद्यालयका युवा विद्यार्थीलाई करियर मार्गदर्शन प्रदान गरेका छन् ।
लेख पोखरा स्थित गरिपारेमा आयोजित ‘युवा करियर परामर्श तथा सम्मान कार्यक्रम’ मार्फत विभिन्न क्षेत्रमा सक्रिय रही वडाको पहिचान बढाउन सफल ५० जनालाई कार्यक्रममा सम्मान गरिएको वडा अध्यक्ष तथा छत्रेश्वरी गाउँपालिका प्रवक्ता फौद बहादुर बस्नेतले जानकारी दिए ।
कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका प्रशासकीय प्रमुख उपसचिव गोपाल केसी, सेवानीवृत उपसचिव टोपेन्द्र केसी, जनस्वास्थ्य निरीक्षक चित्र बहादुर वली, साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घका अध्यक्ष खेमराज वली, प्रेसिडेन्सियल बिजनेस स्कुल काठमाडौँका सञ्चालक लक्ष्मण केसी, जीवन ज्योति मावि रिमका सहायक प्रअ भिमसेन बुढा, प्रहरी वरिष्ठ नायव निरीक्षक याम केसीलगायतका व्यक्तित्वहरूले आफ्ना पेसागत अनुभवमार्फत विद्यार्थीलाई प्रेरणा प्रदान गरेका थिए ।
वडा भित्रका महेन्द्र माध्यमिक विद्यालय र त्रिभुवन जनता माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी करियर परामर्श गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री र प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले युवाको करियर विकास, शिक्षा र अनुशासनलाई प्राथमिकता दिएर भविष्यमा नेतृत्व गर्न सक्ने सक्षम जनशक्ति निर्माणमा यस्ता कार्यक्रम अत्यन्तै प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए ।