© २०२३
काठमान्डौ, १९ मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालमा संवैधानिक राजसंस्था कायम गर्न माग गर्दै आन्दोलनको चेतावनी दिएको छ ।
पार्टी प्रवक्ता ज्ञानबहादुर शाहीले शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपालको वर्तमान राजनीतिक संरचना सुधार्न आवश्यक रहेको बताए । उनले भने, “हामी प्रदेश संरचना खारेज गर्न, हिन्दु, बुद्ध, किराँत धर्मसहितको हिन्दु अधिराज्य स्थापना गर्न, संवैधानिक राजसंस्था कायम गर्न र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने मागका लागि आन्दोलन गर्न लागेका छौँ ।”
शाहीका अनुसार नेपालमा जापान, बेलायत, नेदरल्याण्ड, अष्ट्रेलिया र क्यानडाजस्ता संवैधानिक राजसंस्था आवश्यक रहेको छ । उनले राष्ट्रपतिको ठाउँमा संवैधानिक राजसंस्था, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय बनाउने र भ्रष्टाचारीलाई आजीवन कारावासको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
उनले जेन–जी हत्यारालाई पक्राउ गरी उचित कारावासको सजाय दिनुपर्ने र सम्झौतापछि सडकमा विजय भए पनि सम्झौता अनुसार युवाहरूले पराजय भोगेको बताए ।
शाहीले देशको संविधान, कानून र ऐनमा कमजोरी रहेको उल्लेख गर्दै राजा, जेन–जी र राजनीतिक दलहरूलाई त्रिपक्षीय सम्झौता गर्न आह्वान गरे। उनले माग पूरा नभए सडक आन्दोलन सुरु हुने चेतावनीसमेत दिएका छन् ।