© २०२३
काठमान्डौ, १९ मंसिर ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिका लागि दुई पटक विज्ञापन निकाल्दा पनि कुनै आवेदन नपरेको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
उनका अनुसार विश्वविद्यालयले लगातार दुईपटक उपकुलपति पदका लागि आवेदन मागे पनि एकजनाले समेत निवेदन नदिएपछि सरकार निराश बनेको छ ।
मन्त्री पुनले सामाजिक सञ्जालमार्फत मातृभूमिको सेवा गर्ने इच्छा राख्ने चिकित्सक तथा विज्ञ व्यक्तिहरूलाई अघि आउन आग्रह गरेका छन् । उनले लेखेका छन्– “सुदूरपश्चिम प्रदेश, धनगढी नजिकै अवस्थित दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति पदका लागि दुईपटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन । मातृभूमिको सेवा गर्ने लक्ष्यका साथ स्वास्थ्य क्षेत्रमा प्रा.डा. भई कम्तीमा १० वर्ष काम गरिसक्नु भएको कोही इच्छुक देशभक्त सन्तान हुनुहुन्छ भने कृपया निवेदन दिनुहोस्, वा मलाई नै सम्पर्क गरी जानकारी दिनुहोस् ।”
