© २०२३
बाँके, १९ मङ्सिर ।
उत्पादनको मूल्य निर्धारण र बजार व्यवस्थापनको समस्याका कारण किसानले आफ्नो उत्पादनको मूल्य पाउन सकिरहेका छैनन् ।
बाँके र बर्दिया क्षेत्रका धान किसानहरू वर्षभरि मेहनत गरे पनि उनीहरूको श्रमको उचित मूल्य नपाउँदा निराश बन्नु परेको छ । करिब चार महिनाको मेहनत र ठुलो लगानीपछि उत्पादन हुने धान व्यापारीले केही समयमै खरिद गरी मुनाफामा बेच्ने गर्छन् ।
बढैया ताल गाउँपालिका–५ का किसान गोवर्धन थारु भन्छन्, हामीले चार महिनाको मेहनतपछि १ हजार रुपैयाँ मात्र मुनाफा कमाउँछौँ, तर व्यापारीले १ मिनेटमै हजारौँ उठाउँछन् । यो असमानताले निकै पिडा हुन्छ ।
किसानका अनुसार प्रति कट्ठा करिब २ हजार लगानी गर्दा मुस्किलले डेढ क्विन्टल उत्पादन हुन्छ, तर बजारमा त्यही धान व्यापारीले उच्च मूल्यमा बेचेर प्रति क्विन्टल १ हजारदेखि १ हजार ५ सयसम्म नाफा कमाउने गर्छन् । व्यापारीतर्फबाट पनि बजारको अस्थिरता मुख्य चुनौती भएको आवाज आउने गरेको छ ।
बाँसगढी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष रामसिंह थारु भन्छन्, बजार स्थिर नहुँदा मूल्य निर्धारणमा समस्या हुन्छ। व्यापारीको जोखिम पनि छ, तर किसानभन्दा धेरै नाफा हाम्रो हातमा पर्नु असमानता हो ।
सरकारले सहुलियत, अनुदान र मल–सिँचाइमा केही सहयोग गर्दै आएको भए पनि किसानको मुख्य समस्या भनेकै उचित बजार मूल्यको अभाव हो । राप्ती सोनारी गाउँपालिका–७ का किसान रामकुमार थारु भन्छन्, सरकारले हामीलाई अनुदानको आशा देखाउँछ, तर बजारको मूल्य अस्थिर हुँदै जाँदा हामी झन् घाटामा पर्छौँ ।
यता, सरकारी निकायका अधिकारीहरू पनि बजार व्यवस्थापन सुदृढ गर्न नसकिएको स्विकार्छन् । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, बर्दियाका प्रमुख कमला अधिकारीका अनुसार, किसानलाई मल, सिँचाइ र प्रविधिमा अनुदान दिने व्यवस्था भए पनि बजार मूल्य व्यवस्थापनमा सुधार ल्याउन सकिएको छैन ।
बर्दियामा करिब ५० हजार हेक्टरमा हुने धान खेतीमा आवश्यक मलको माग अनुसार आपूर्ति नहुँदा उत्पादन पनि प्रभावित भएको उनीहरूको भनाइ छ ।
विशेषज्ञहरूका अनुसार, किसान र व्यापारीबिचको नाफाको असमानता हटाउन न्यूनतम समर्थन मूल्य (एमएसपी) प्रभावकारी रूपमा लागू गर्नु, सहकारीमार्फत मल–बिउ उपलब्ध गराउनु, किसानलाई बजारमा सीधा पहुँच दिलाउने नीतिलाई बलियो बनाउनु अपरिहार्य छ ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरे भन्छन्, बजार मूल्य स्थिरता बिना किसानको श्रमको मूल्य सुरक्षित हुँदैन । उत्पादनको उचित मूल्य, बजारको स्थिरता, र असमान मुनाफामाथि नियन्त्रण हुनुपर्ने किसानहरूको माग छ ।
राजापुर नगरपालिका–३ का अजय कुमार थारु भन्छन्, हामीलाई मेहनतको न्यायपूर्ण मूल्य चाहिन्छ । सरकारले हाम्रो पक्षमा उभिए मात्रै भविष्य उज्यालो हुन्छ । कृषि सामग्री कम्पनी बाँकेका प्रमुख पुष्पराज श्रेष्ठ पनि किसान अनुकूल नीतिको आवश्यकता जोड्दै भन्छन्, सरकारले किसानमैत्री नीति लागू गर्न सके कृषि क्षेत्रमा लागेका किसानका लागि हित हुनसक्छ ।
बाँके–बर्दियाका किसानहरूको सङ्घर्ष केवल उनीहरूको निजी समस्या होइन, यो सम्पूर्ण नेपाली कृषिको भविष्यसँग जोडिएको मुद्दा हो । किसानको श्रमको उचित मूल्य सुनिश्चित गर्न सरकार, व्यापारी, सहकारी र कृषि संस्थाहरूको समन्वित प्रयास आवश्यक छ ।
किसानले उत्पादन गरेको बालीको मूल्य सम्मानित रूपमा पाउन सके मात्र नेपालको कृषि क्षेत्रमा किसानको आकर्षण बढाउन सक्ने सम्भावना छ ।