© २०२३
जितपुर, १९ मंसिर ।
१६औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी एक समारोहकाबीच औपचारिक रूपमा सुरु गरिएको छ। लुम्बिनीस्थित रोयल थाई मोनास्ट्रीका प्रमुख भिक्षु फ्रा। श्री बोधी बिदेश सुपोतले महोत्सवको उद्घाटन गर्दै नेपालसहित विश्वभर शान्ति स्थापनाको कामना व्यक्त गरेका थिए । सोही क्रमलाई शान्तिका प्रतीकात्मक बनाउन परेवा उडाइएर शान्तिको सन्देश प्रवाह गरिएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै संविधानसभा सदस्य अत्तहर कमाल मुसलमानले समाजमा बढ्दो नकारात्मकता र सर्वसाधारण तथा नेतृत्वबीचको दूरी अन्त्य गर्नुपर्ने आवश्यकता औलाएका थिए । उनले विगतका तुलनामा विकासका काम अघि बढे पनि सुशासन कायममा अझै सुधार आवश्यक रहेको बताए ।
लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान गराउने तथा स्वदेशी उत्पादनको प्रवद्र्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । स्थानीय मौलिक संस्कृति, परम्परा र लोप हुँदै गएका पहिचानहरूको संरक्षणमा सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका थिए ।

बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा बाणगंगा–४ बुद्ध रंगशालामा सञ्चालनमा आएको महोत्सव पुस १ गतेसम्म चल्नेछ। महोत्सवमा कृषि तथा औद्योगिक प्रदर्शनी, स्थानीय तथा घरेलु उत्पादन, ‘सोनो सिटी’, ‘जलपरी’, ‘सुनामी पिङ’ लगायतका आकर्षक संरचना, १४औँ कपिलवस्तु डान्स आइडल, मम्मी डान्स, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, बालउद्यान, व्यापारिक प्रदर्शनी तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम राखिएका छन्।
आयोजकको अपेक्षा अनुसार बाणगंगा मात्र नभई आसपासका जिल्लाबाट पनि ठूलो संख्यामा दर्शक आउने अनुमान गरिएको छ। स्थानीय तह, उद्योगी–व्यवसायी र सरोकारवालाको सहकार्यमा आयोजना हुने महोत्सवले लुम्बिनी प्रदेशको व्यापार, पर्यटन र स्थानीय उत्पादनको प्रबर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
तीन बुद्धसँग ऐतिहासिक रूपमा जोडिएको कपिलवस्तुमा आयोजना हुने मेला–महोत्सवहरूले जिल्लाको पहिचान सुदृढ गर्दै समग्र विकासमा टेवा पुर्याउँदै आएको मानिन्छ।