© २०२३
काठमान्डौ, १९ मंसिर ।
नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई आज (शुक्रबार) विशेष अदालतमा पेश गरिँदैछ ।
सम्झौताअनुसार विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) नपेसिएको र आवश्यक प्रक्रिया पूरा नगरी हेलिपोर्ट निर्माणकार्य अगाडि बढाएको अभियोगमा उनीहरूलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो ।
आज विशेष अदालतमा उनीहरूको बयान (बकपत्र) लिने कार्य हुनेछ । बकपत्र प्रक्रिया सकिएपछि थुनछेक बहस सुरु हुने भए पनि आजै बहस प्रारम्भ हुने सम्भावना न्यून रहेको अदालत स्रोतले जनाएको छ ।
दुई वर्षभन्दा बढी समयसम्म चलेको अनुसन्धानपछि बुधबार महानिर्देशक अधिकारी, पूर्वनिर्देशक भण्डारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।