© 2026
काठमान्डौ, १९ मंसिर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीका मोबाइल, ल्यापटप लगायतका उपकरण ‘ग्याजेट’ बरामद गरी अनुसन्धान सुरु गरेको छ ।
उच्च स्रोतका अनुसार, बुधबार बिहान अख्तियारको टोली अधिकारीको निवासमै पुगेको थियो र उनलाई पक्राउ गर्दै फोन, ल्यापटप र अन्य उपकरण नियन्त्रणमा लिएको थियो । अख्तियार स्रोतले बताए अनुसार, “उहाँका शंकास्पद क्रियाकलाप र कारोबारको निगरानी भइरहँदै थियो। त्यसै सिलसिलामा फोन लगायत शंकास्पद वस्तुहरू नियन्त्रणमा लिएका हौं ।”
स्रोतका अनुसार अधिकारीले केहीबेर उपकरणहरू नियन्त्रणमा लिन अवरोध गर्ने प्रयास गरेका थिए, तर अख्तियारको टोलीले तुरुन्तै फोन र अन्य सामग्री नियन्त्रणमा लिएको थियो । बरामद सामग्री अख्तियारको डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गरी अनुसन्धान अगाडि बढाइनेछ ।
बुधबारै अधिकारीलाई मुद्दासहित विशेष अदालतमा पेस गरिएको थियो । विशेष अदालतले “समय अभाव” उल्लेख गर्दै उनलाई अख्तियारकै हिरासतमा फर्काइएको थियो । शुक्रबारदेखि अधिकारी र प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीको बयान विशेष अदालतमा सुरु भइसकेको छ ।
अख्तियारले नलिनचोक हेलिपोर्ट र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार बाहेक सिनामंगलस्थित प्राधिकरण भवन निर्माण लगायतका उजुरीमाथि पनि अनुसन्धान गरिरहेको छ । अधिकारीहरूको बैंक खाता र कारोबारी गतिविधि समेत अनुसन्धानको दायरामा छन् ।
स्रोतका अनुसार, “उहाँले कैयौं व्यक्तिलाई रकम बाँडेको र अनुसन्धान निस्तेज बनाउन विभिन्न शक्तिकेन्द्रका मानिस र बिचौलिया परिचालन गरेको सूचना थियो । त्यसैको अनुसन्धानको सिलसिलामा महत्त्वपूर्ण प्रमाण हुनसक्ने आशंकामा उहाँका सामान नियन्त्रणमा लिएका हौं ।”