© २०२३
काठमान्डौ, १८ मंसिर ।
सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत यौन दुर्व्यवहारजन्य गतिविधि र त्यसबाट पीडित हुने व्यक्तिहरूको संख्या बढ्दो क्रममा रहेको प्रहरीले जनाएको छ ।
साइबर ब्यूरो भोटाहिटीको तथ्यांकअनुसार डिजिटल हिंसासँग सम्बन्धित प्रत्येक आठवटा उजुरीमध्ये एक उजुरी अनलाइनबाट हुने यौन दुर्व्यवहारसँग सम्बन्धित हुन्छ ।
साइबर ब्यूरोमा कार्यरत प्रहरी नायब निरीक्षक राधिका ठकुरीका अनुसार, डिजिटल हिंसामा पुरुषको तुलनामा महिलाहरू बढी पीडित छन् । यसमा विशेषगरी बालिकाहरू लक्षित हुने गरेको पाइन्छ ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत तरंगिनी महिला अधिकार प्रशिक्षण केन्द्रले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा प्रहरी नायब निरीक्षक ठकुरीले साइबर ब्यूरोमा आउने उजुरीको अवस्था र प्रवृत्तिबारे प्रस्तुतीकरण गरेकी थिइन् ।
उनका अनुसार किशोरीहरूलाई लक्षित गरेर हिंसाजन्य गतिविधि बढ्दो छ । सामाजिक सञ्जालमार्फत किशोरीहरूसँग जोडिने र नग्न फोटो खिचेर त्यसलाई दुरुपयोग गर्ने प्रवृत्ति फैलिँदै गएको छ । यस्तो गतिविधिका कारण कतिपय किशोरीहरूमा मानसिक तनाव र डिप्रेशन समेत देखा परेको छ ।
तथ्यांकअनुसार कक्षा ९ र १० पढ्ने बालबालिकालाई अनलाइनमार्फत फसाउने र प्रलोभन देखाएर विभिन्न काममा लगाउने प्रवृत्ति बढ्दो छ । केही घटनामा अनलाइन चिनजानको आधारमा प्रेमविवाह गराएर बालिकालाई विदेश पठाउने र सेक्स वर्करको रूपमा काम लगाउने प्रयास समेत भएको देखिएको छ ।
साथै, डिजिटल ठगीका घटनाहरू पनि तीव्र गतिमा बढ्दै गएको प्रहरीले जनाएको छ । प्रहरी नायब निरीक्षक ठकुरीका अनुसार, विदेशबाट सामान पठाएको वा पुरस्कार आएको भन्दै एयरपोर्टमा कर तिर्नका लागि पैसा माग्ने जस्ता ठगीका घटनाहरू बढिरहेका छन् ।