Butwal Today

‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी

१८ मंसिर २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, १८ मंसिर ।

अध्यागमन विभागले नेपाल भित्रिने विदेशी नागरिकहरूको तथ्याङ्क व्यवस्थित रूपमा सङ्कलन, अभिलेखन र विश्लेषण गर्नका लागि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने तयारी गरेको छ ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार, पर्यटकहरूको सुरक्षा सुनिश्चितता, सूचना प्रवाहमा सहजता, पर्यटन प्रवर्द्धन र अपराध नियन्त्रणका लागि यो प्रणाली आवश्यक रहेको छ । मुलुकमा प्रवेश गर्ने विदेशी नागरिकको गतिविधि र आवाससम्बन्धी विवरण राज्यलाई अनिवार्य रूपमा थाहा हुनुपर्ने भएकाले आगामी पुस १८ देखि  ९ जनवरी १, (२०८२) यस प्रणाली लागू गरिने उनले बताए ।

महानिर्देशक तिवारीका अनुसार, जसरी हरेक नेपाली नागरिकको अवस्थाबारे राज्यलाई जानकारी हुन आवश्यक छ, त्यसरी नै नेपाल आउने विदेशी नागरिकहरूको अवस्थाबारे पनि जानकारी आवश्यक छ । जनवरी १ देखि कुनै पनि विदेशी नागरिक नेपाल प्रवेश गरेपछि आफ्नो आवास अनिवार्य रूपमा घोषणा गर्नुपर्ने व्यवस्था प्रणालीमा रहनेछ ।

नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)  की वरिष्ठ उपाध्यक्ष तेजश्वी तुलाधरले यस प्रणालीले पर्यटकको सुरक्षा सुनिश्चित गर्न र तथ्याङ्क सङ्कलनमा सघाउ पुग्ने बताए, साथै यो ट्रयाकिङ गलत नभएको धारणा व्यक्त गरिन् ।

तर, होटल एसोसिएसन नेपाल (हान)  का महासचिव साजन शाक्यले भने जनवरी १ देखि नै प्रणाली कार्यान्वयन गर्न कठिन हुने बताउँदै थप समय आवश्यक रहेको उल्लेख गरे । उनले भने, “तारे होटलहरूमा लागू गर्न त सहज भए पनि सरकारी नीतिसम्बन्धी पर्याप्त छलफल अझै भइसकेको छैन ।”

पहिलो चरणमा पुस १७ गतेदेखि उपत्यकाका तारे होटलहरूमा र फाल्गुन १७ गतेदेखि देशभरका होटल, एयरलाइन्स, होमस्टे, ट्रेकिङ कम्पनी र अन्य सेवा प्रदायकहरूमा यो प्रणाली अनिवार्य लागू गरिने विभागको योजना छ ।