© २०२३
काठमान्डौ, १७ मंसिर ।
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन अन्तर्गत धनकुटा र ओखलढुंगामा भएको निर्वाचन केन्द्रले बदर गरेको छ ।
ओखलढुंगामा इतर पक्ष र धनकुटामा संस्थापन पक्षले एकलौटी रूपमा निर्वाचन जितेको देखिएपनि दुवै जिल्लामा प्रतिनिधि छनोट प्रक्रियामा धाँधली भएको उजुरी आएपछि निर्वाचन केन्द्रले पाँच दिनभित्र पुनः निर्वाचन गर्ने निर्देशन दिएको हो ।
ओखलढुंगामा इतर पक्षले केवल सदरमुकाममा मतदान गराएर एकलौटी नतिजा घोषणा गरेको थियो भने धनकुटामा संस्थापन पक्षले सहमति बिना नै एकलौटी मतदान सम्पन्न गरेको थियो । धनकुटामा सहमतिको प्रयास भए पनि इतर पक्ष तयार नभएकाले जिल्ला अध्यक्ष राजेन्द्र राईले निर्वाचन एकलौटी रूपमा सम्पन्न गराएका थिए ।
प्रदेश सांसद इन्द्रमणि पराजुलीसहितको समूहले निर्वाचन प्रक्रियाको विरोध गर्दै केही स्थानमा मतपत्र पनि च्यातिएको बताइएको छ ।
धनकुटामा १३ र ओखलढुंगामा १२ प्रतिनिधि छानिएका थिए । निर्वाचन बदर भएपछि दुवै जिल्लामा पुनः प्रतिनिधि छनोटको तयारी सुरु भएको छ ।
धनकुटाको विवाद समाधानको जिम्मा प्रदेश इन्चार्ज शेरधन राई र जिल्ला अध्यक्ष राजेन्द्र राईलाई दिइएको छ । तर स्रोतका अनुसार उनीहरूबीच व्यक्तिगत सम्बन्ध राम्रो नहुने कारण विवाद समाधानमा अन्योल रहेको छ ।
ओखलढुंगामा प्रतिनिधि छनोटका लागि सहजीकरणको जिम्मा प्रदेश इन्चार्ज शेरधन राईसहित विशाल भट्टराई, यज्ञराज सुनार र किशोर अधिकारीलाई दिइएको छ ।
जिल्ला सदस्य रवीन कट्टेलका अनुसार केन्द्रको पत्र प्राप्त भइसकेकाले अब प्रतिनिधि छनोट प्रक्रियाका विषयमा छलफल सुरु भएको छ ।