Butwal Today

गौ पालनका लागि रुरु क्षेत्रमा एक हप्ते महायज्ञ हुने

१७ मंसिर २०८२, बुधबार
अ+
अ-

पाल्पा, १७ मंसिर

रुरु गौ सेवा आश्रम तानसेन–१४ कुसेनी र रुरु क्षेत्र धाम रिडीमा आगामी मंसिर १९ गतेदेखि २५ गतेसम्म एक हप्ते भविष्य पुराण धान्याञ्चल महायज्ञ सञ्चालन हुने भएको छ। आश्रममा रहेका गाईको दीर्घकालीन संरक्षण, पोषण र व्यवस्थापनका लागि आवश्यक वार्षिक खर्च जुटाउने उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो।

रुरु गौ सेवा आश्रमले पछिल्ला पाँच वर्षदेखि निरन्तर गौ संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। रिडी क्षेत्रका करिब दुई सय छाडा गाईको व्यवस्थित संरक्षण गर्ने लक्ष्यसहित शुरु गरिएको आश्रममा हाल १ सय ३५ वटा गाई पालन–पोषण भइरहेका छन्।

महायज्ञमा योगाचार्य महिला बाचिका सरितानन्दी माताजी प्रमुख बाचक रहनेछन् भने प्रथम महिला जगदगुरु शंकराचार्य माता हेमानन्द गिरीजी महाराजको विशेष उपस्थित रहने कार्यक्रम छ। भक्तजनहरूले गाईको पोषणका लागि आवश्यक घास, दाना, पराल, धान, मकै तथा नगद दान गर्न सक्ने व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ। एक गाई पालन गर्न मासिक २ हजार १ सय रुपैयाँ लाग्ने भएकाले सोही अनुरूप दान गरी पुन्य कमाउन सबैलाई आग्रह गरिएको छ।

महायज्ञ अवधिभर दैनिक भजन प्रतियोगिता, दीपोत्सव, करोडौँ दीया प्रज्वलन, निशुल्क भण्डारा र महाआरती जस्ता कार्यक्रम सञ्चालन हुनेछन्। टाढाबाट आउने भक्तजनका लागि खान–बस्ने सम्पूर्ण व्यवस्था रहेको आश्रमका मुल संरक्षक शंकर गिरीले जानकारी दिए। भजन प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजार पुरस्कार प्रदान गरिनेछ।

हिन्दु धर्ममा जन्मदेखि मृत्युसम्म गाईको महत्व रहेको उल्लेख गर्दै आश्रमकी अध्यक्ष राजु राणा मल्लले गाईबारे जनचेतना फैलाउने, गोबर–गौमुत्रको उपयोगिताबारे जानकारी दिनेसहित संरक्षण अभियानमा आश्रम निरन्तर सक्रिय रहेको बताइन्।

गौ सेवा आश्रम सञ्चालन भएपछि पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जाका विभिन्न स्थानमा छाडा गाई–गोरुका कारण कृषकलाई दिनरात खेतबारीको सुरक्षा गर्नुपर्ने बाध्यता हटेको आश्रमकी उपाध्यक्ष सिता ज्ञवालीको भनाइ छ। उनले कम्तीमा एक गाईको मासिक खर्च २१ सय रुपैयाँ दान गरेर पुन्य कमाउन सबैमा आग्रह गरिन्।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले आश्रमको प्रचार–प्रसारमा पत्रकारहरूको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए।

बार्षिक रूपमा गौ संरक्षणमा ४० देखि ५० लाख रुपैयाँ खर्च हुने आश्रमले यस महायज्ञबाट २० देखि ३० लाख रुपैयाँ सम्म आम्दानी हुने अपेक्षा गरेको छ। लैनो गाई ५ हजार रुपैयाँमै जुनसुकै बेला किन्न सकिने र दुध दिन छोडेपछि पुनः आश्रममा बुझाउन सकिने व्यवस्था पनि रहेको संरक्षक गिरीले जानकारी दिए।

महायज्ञ सफल बनाउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोजक पक्षले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?