© २०२३
काठमान्डौ, १७ मंसिर ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पदबाट राजीनामा दिन तयारीमा रहेका छन् । बुधबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले राजीनामा पेश गर्ने तयारीमा रहेको नेकपा एमालेका स्रोतले जानकारी दिएका छन् । मुख्यमन्त्री यादवले आफू पक्षमा बहुमत नपुगेको अवस्था देखिएपछि राजीनामा दिने निर्णय गर्न लागेको बुझिएको छ ।
सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेशअनुसार बुधबार बिहान प्रदेशसभा बैठक बोलाइएको थियो, तर सत्तापक्षका सांसदहरूको अनुपस्थितिका कारण बैठक दिउँसो २ बजेसम्म सारिएको छ ।
एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोका अनुसार आफूहरूले मुख्यमन्त्रीलाई राजीनामा दिने सुझाव दिएका थिए । महतोले भने, “अहिलेको अवस्थामा विश्वासको मत लिँदा पनि बहुमत पुग्ने अवस्था देखिँदैन। त्यसैले राजीनामा दिने निर्णय नै उपयुक्त हुन्छ भन्ने सुझाव दिएको हुँ ।”
मुख्यमन्त्री यादवले पनि निकटस्थसँग परामर्श गरी राजीनामा दिने मनस्थिति बनाएका छन् । एक निकट सांसदका अनुसार, “मुख्यमन्त्रीजीले २ बजे बस्ने प्रदेशसभा बैठकमा आफ्नो धारणा राखेर राजीनामा दिने तयारीमा हुनुहुन्छ । राजीनामाको भाषाबारे छलफल भइरहेको छ ।”
सरोजकुमार यादव गत कात्तिक २३ गते नियुक्त भएका थिए । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । यो नियुक्ति पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामापछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेता भएको आधारमा गरिएको थियो ।
तर उनका नियुक्तिको विषय सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । यस क्रममा मुख्यमन्त्रीको विवादका कारण प्रदेश प्रमुख भण्डारीलाई सरकारले फिर्ता पठाएको छ भने सभामुख रामचन्द्र मण्डल पनि पदबाट हटिसकेका छन् ।