© २०२३
काठमान्डौ, १७ मंसिर ।
खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल उज्यालो नेपाल पार्टीको चुनाव चिह्न प्रयोग गर्ने पूर्वसहमतिबाट अलग भएको छ । मंसिर १० गते कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीसँग ‘बलेको चिम’ चिन्ह लिएर निर्वाचनमा भाग लिने सहमति भएको थियो । तर कानुनी जटिलता देखा परेपछि सहमति कार्यान्वयन नगर्ने निर्णय गरिएको पार्टीका केन्द्रीय सदस्य प्रेमनारायण विकले जानकारी दिए ।
विकका अनुसार मंसिर १४ गते नै सहमति खारेज भएको बारेमा निर्वाचन आयोगलाई आधिकारिक रूपमा जानकारी गराइसकिएको छ ।
उनले भने, “हामीले एकै चुनाव चिन्ह लिन प्रारम्भिक सहमति गरेका थियौँ । तर पछि कानुनी समस्या आउने देखिएपछि सहमतिबाट अलगियौँ । एउटै चिन्ह प्रयोग गर्दा पार्टीको पहिचान नै संकटमा पर्ने रहेछ । अब हामी आफ्नै पार्टीको चिन्हमै निर्वाचनमा भाग लिन्छौँ । दुई पार्टीबीच भने चुनावी तालमेल हुनेछ ।”