© २०२३
‘अपाङ्ग समावेशी समाज निर्माण गरी सामाजिक प्रगतिको प्रवर्द्धन गरौं’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईदैछ ।
संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र भएको नाताले राष्ट्रसङ्घले घोषणा गरेका नारा र दिवसमा आत्मसाथ गर्नु नेपालको दायित्व र कर्तव्य पनि हो । नेपालले यो दिवस विगत ३३ वर्षदेखि मनाउँदै आएको छ । खास गरी अधिकारका सवालमा अपाङ्गता दिवसलाई महत्वसाथ हेरिनु जरुरी छ ।
अझै पनि अपाङ्गता भएकाहरूलाई हेय भावले हेर्ने र त्यही अनुसारको व्यवहार गर्ने गरिएको छ । संयुक्त राष्ट्रसङ्घले यो दिवसलाई औपचारिक रूपमै मनाउन थालेपछि यसको दृष्टिकोणमा थोरै भए पनि परिवर्तन आएको छ ।
संयुक्त राष्ट्रसङ्घले सन. १९८१ मा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका रूपमा मनाउने घोषणा गरेपछि अपाङ्गताको विषय सघन रूपमा बाहिर आएको छ । यसको परिभाषा, वर्गीकरण, दृष्टिकोण, विश्वव्यापी मान्यता र अधिकारको सवाललाई लिएर बहस आरम्भ भएको हो ।
अहिले अपाङ्गता भएकालाई तल्लो दर्जाको व्यवहार गर्ने प्रवृत्ति रोकथाम गर्न र उनीहरूको अधिकार राज्यका हरेक निकायसम्म पु¥याउन जरुरी छ । यद्यपि पछिल्लो समय बिस्तारै अपाङ्गता भएका व्यक्तिलाई हेर्ने र बुझ्ने मान्यतामा परिवर्तन आएको छ । पछिल्लो समय अपाङ्गता भएकाहरूलाई गरिने विभेदमा कमी आउँदै गरेको आभास भैरेहपनि जरो अझै निमिट्यान्न भएको छैन ।
अपाङ्गता भएकाहरूले विभेद कायमै रहेको बताउँदै आएका छन । वास्तवमा अपाङ्गताको समग्र अधिकार र उनीहरूको रक्षाको कुरा मानव अधिकारमैत्री र समावेशी हुन सकिरहेको छैन । यो चुनौतिको कुरा हो । अपाङ्गताभित्र पनि विविधताको सम्बोधनमा चुनौती छ ।
अपाङ्ग भएकाहरूको प्रकृति फरक फरक रहेकोले उनीहरूको अधिकार कसरी सम्बोधन गर्ने भन्ने प्रश्न पनि अहिले उत्पन्न भएको अवस्था छ । पछिल्लो समय अपाङ्गता भएका व्यक्तिको जीवन झनै कष्टकर बन्दै गएको देखिएको छ । त्यसभित्र पनि महिलाको अवस्था झनै दयनीय छ ।
उनीहरूमाथि आफ्नै घरभित्रबाट मानसिक तथा शारीरिक यातना दिने काम हुने गरेको छ । आगामी दिनमा विभेद नहुने अवस्थाका लागि व्याप्त चुनौतिको मिलेरै समाधान गर्नुपर्ने आवश्यकता छ । लैंगिक विभेद र पितृ सत्तात्मक सोच तथा मूल्य मान्यता व्याप्त हुँदा अपाङ्गता भएका महिलाहरू घरेलु हिंसा र अपहेलनामा परेका छन् ।
शारीरिक कमजोरीकै कारण विभिन्न खालका लाञ्छना लगाउने काम हुने गरेको छ । उनीहरू विभिन्न अवसरबाट विमुख बनाईएका छन् । बौद्धिक अपाङ्गता, बहुअपांगता, मनोसामाजिक लगायतका अपाङ्गता भएर अरूको सहायतामा बाँचिरहेकाहरू हिंसा र विभेदमा परेको तथ्याँकले देखाएको छ ।
कतिपय त बलात्कारको शिकार पनि हुनुपरेको छ । तर, अपाङ्गतामैत्री न्यायिक संरचना र सेवा नहुँदा न्याय पाउन त सकिरहेका छैनन् । उल्टै परिवार र समाजबाट तिरस्कृत हुनुपर्ने अवस्था छ । अपाङ्गमैत्री संरचनाको अभावमा उनीहरूको पहुँचमा समेत विराम लाग्ने अवस्था आईरहेको छ । यो चिन्ताको कुरा हो ।
हामी यति वेला लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान पनि मनाइरहेका छौँ तर अपाङ्गता भएका महिलाका सवालमा सम्वद्ध सरोकारवालाको चासो भने न्युन देखिएको छ । अपाङ्गता भएका पुरुष महिला विरुद्ध हुने सबै प्रकारका विभेद, हिंसा र अन्याय विरुद्ध आफू पनि बोल्न सक्ने र घरैभित्रबाट अधिकार प्राप्त गर्न सक्ने बनाउने हाम्रो अभियानलाई सबैको साथ आवश्यक छ ।
अपाङ्गता भएकाहरूले अझै पनि आफूहरूलाई समाजले विभेद गर्ने गुनासो गर्दै आएका छन् । राज्यले समेत अपाङ्गता भएकाहरूलाई खासै सुविधा नदिएको उनीहरूको गुनासो छ । शारीरिक, अपाङ्गता तथा स्वास्थ्य स्थितिका आधारमा अपाङ्गता भएकाहरूलाई विशेष संरक्षण, सशक्तीकरण वा सुविधा प्रदान गर्नुपर्ने अवको आवश्यकता हो ।
अहिलेपनि सार्वजनिक स्थान र सवारीका साधनमा उनीहरूमाथि दुव्र्यवहार हुने गरेको छ । अवको दिनमा दिवस मनाएरमात्र हुँदैन, उनीहरूको अधिकारको लागि सार्थक अभियानको खाँचो छ ।