© २०२३
काठमान्डौ, १७ मंसिर ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस युरोपसँग युद्ध चाहँदैन तर युरोपले चाहने हो भने आफूहरू त्यसका लागि तयार रहेको चेतावनी दिएका छन् ।
युक्रेनसँगको युद्ध अन्त्यका विषयमा अमेरिकी विशेष दूत स्टीव विटकफसँग भेटवार्ता तय भएको जानकारी दिँदै पुटिनले यसअघि एक लगानी मञ्चमा सम्बोधन गरेका थिए । सम्बोधन समाप्त भएपछि उनी प्रश्नोत्तरमा सहभागी नभई बाहिरिएका थिए, तर मार्गमा ट्रेड सेन्टरको लबीमा भेला भएका पत्रकारहरूसँग संक्षिप्त कुरा गरेका थिए ।
युरोपको शान्ति प्रक्रियामा संलग्नता सम्बन्धी प्रश्नमा पुटिनले युरोपेली देशहरूमाथि शान्तिपूर्ण एजेन्डा नभएको आरोप लगाए । उनले युरोपले अमेरिकाको मध्यस्थता प्रयासमा समेत अवरोध पुर्याइरहेको टिप्पणी गरे ।
पुटिनले भने, “हामी युरोपसँग लड्न चाहँदैनौँ । तर यदि युरोपले हामीसँग लड्न चाहन्छ भने, हामी अब तयार छौँ ।” उनले रूसले युद्ध अन्त्यका लागि युरोपले राख्ने शर्तहरू स्वीकार गर्न नसकिने पनि स्पष्ट पारे ।