© २०२३
काठमान्डौ, १७ मंसिर ।
निर्वाचन आयोगबाट दल दर्ता प्रमाणपत्र लिएपछि नेकपा माओवादीका गतिविधि सुस्त देखिएका छन् । मङ्सिर २ गते महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बाजागाजा सहित आयोग पुगेपछि दल दर्ता प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको थियो । प्रमाणपत्र प्राप्त गरेपछि विप्लवले प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रपति रामचन्द्र पौडेललगायत राजनीतिक नेतृत्वसँग भेटघाटसमेत गरेका थिए ।
यता, अन्य राजनीतिक दलहरू चुनावी तयारी, नेतृत्व चयन, पार्टी एकता तथा गठबन्धन निर्माणमा सक्रिय भइरहे पनि माओवादीको गतिविधि सार्वजनिक रूपमा खासै देखिएको छैन । पार्टी स्थायी समिति सदस्य सन्तोष बुढाका अनुसार संगठनभित्र आन्तरिक प्रशिक्षण भने निरन्तर चलिरहेको छ । उनले निर्वाचनलाई उपयोग गर्ने विषय त भएको तर महत्त्व नदिएको टिप्पणी गरे ।
बुढाले भने, “चुनाव हाम्रो महत्त्वपूर्ण विषय होइन । त्यसका लागि तयारी पनि गरेका छैनौँ । पछिल्लो केन्द्रीय बैठकमा भएका निर्णय कार्यान्वयनका लागि आन्तरिक प्रशिक्षण चलिरहेको छ । अहिले खेतीपातीको समय भएकाले हामी आधारभूत काममै व्यस्त छौँ ।”
उनका अनुसार आवश्यकताअनुसार विचार र सिद्धान्त मिल्ने दलहरूसँग चुनावी तालमेल हुन सक्ने सम्भावना खुला रहेको छ । तर यसबारे अहिलेसम्म कुनै औपचारिक योजना नबनेको उनले बताए । नेता तथा कार्यकर्ता पार्टी छाड्ने क्रम बढिरहेको प्रश्नमा बुढाले माओवादीले यसलाई विशेष महत्व नदिएको बताए ।
उनले थपे, “प्रचण्डले नेताहरू भित्र्याउँछन्, हामी कार्यकर्तालाई भित्र्याइरहेका छौँ । नेता भन्दा कार्यकर्ता र जनता नै हाम्रो प्राथमिकता हुन् । आउने–जाने क्रम राजनीतिक प्रक्रियाको सामान्य हिस्सा हो ।”
यसअघि कात्तिक २० गते काठमाडौँमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको ब्यानरमा विरोधसभा सम्पन्न भएको थियो । कर्णाली प्रदेशमा आन्तरिक प्रशिक्षणका लागि रहेका महासचिव विप्लव सुर्खेत, कपिलवस्तु, दाङका कार्यक्रम सकेर केही दिनमै काठमाडौँ फर्किने सचिवालयले जनाएको छ ।