Butwal Today

गाउँमै सहरजस्तै सेवा : प्रसूति सुविधामा नयाँ उपलब्धि

१७ मंसिर २०८२, बुधबार
अ+
अ-

नेपालगञ्ज, १७ मंसिर ।

कुनै समय बाँकेको सबैभन्दा दुर्गम र सेवा–सुविधाबाट पछाडिएको क्षेत्रका रूपमा चिनिने नरैनापुर गाउँपालिकामा अहिले स्वास्थ्य सेवाको स्वरूप नै बदलिएको छ। जहाँ उपचारका लागि नेपालगञ्ज जान भारतीय बाटो समाउनुपर्ने बाध्यता थियो, त्यही गाउँमा अब सुरक्षित प्रसूति सेवा घरमै उपलब्ध हुन थालेको छ।

नरैनापुरमा विगतका वर्षहरूमा भएको स्वास्थ्य सुधारको केन्द्रमा छन्—अनमी सामना क्षेत्री। नरैनापुर–१ स्थित स्वास्थ्य चौकीमा कार्यरत उनी हरेक दिन आमाबाबु हुने माताहरूको स्वास्थ्य परीक्षण, नवजात शिशुको निगरानी र प्रसूति सेवामा व्यस्त रहन्छिन्। उनको आत्मीयता, जिम्मेवारी र सेवा–भावनाले स्थानीय महिलाको भरोसा बढाएको छ। पहिले जोखिम मोलेर घरमै सुत्केरी हुने महिलाहरू अहिले स्वास्थ्य चौकीमै सुरक्षित प्रसूति गराउन आउन थालेका छन्। यसले मातृ तथा नवजात मृत्युदर घट्न महत्वपूर्ण भूमिका खेलेको छ।

सामना र उनकी टोली २४ घण्टा तयारीमै बस्छन्। रात–बिरात पनि प्रसूति सेवा, नवजात शिशुको रेखदेख तथा आवश्यक परामर्श दिन उनीहरू सधैं तत्पर रहने गरेको स्वास्थ्य चौकी इन्चार्ज दिनेश मौर्य बताउँछन्। सामना भन्छिन्, “नियमित जाँच, सुरक्षित प्रसूति र निरन्तर सचेतनाले ग्रामीण महिलामा आत्मविश्वास बढेको हो।” उनका अनुसार चालु आर्थिक वर्षको चार महिनाभित्र ७३ जना शिशु स्वास्थ्य चौकीमै सुरक्षित जन्मिएका छन्।

गाउँपालिकाले सहरमै जस्तै स्वास्थ्य सेवा गाउँभित्रै उपलब्ध गराउने लक्ष्यसहित दक्ष जनशक्ति परिचालन गरेको स्वास्थ्य संयोजक नगेन्द्रकुमार शाह बताउँछन्। “अब हाम्रा चौकीहरूले २४ घण्टा सेवा दिन सक्ने बनेका छन्,” उनले भने ।

गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार स्थानीय सरकार गठनपछिको अवधि स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा निर्णायक रूपमा उपयोग भएको छ। “स्वास्थ्यकर्मीको निरन्तर मेहनत र हाम्रो प्राथमिकताका कारण नरैनापुरमा ठूलो परिवर्तन देखिएको छ,” उनले भने।

प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले समेत स्वास्थ्य क्षेत्रमा जिम्मेवारीपूर्वक काम गर्न वडा अध्यक्ष र स्थानीय इकाइलाई आग्रह गर्दै भन्छन्, “गुणस्तरीय सेवा दिन आवश्यक रकम समयमै निकासा हुनैपर्छ। ढिलासुस्तीले सेवा प्रभावित हुने अवस्था असह्य छ।”

नरैनापुरका स्थानीय अब गर्वका साथ भन्छन्-“सुत्केरी हुन सहर जानु पर्ने दिन गए। हाम्रो गाउँमै उत्कृष्ट सेवा छ।”

स्वास्थ्य चौकीका तथ्याङ्कले पनि यो परिवर्तन पुष्टि गर्छन्। नरैनापुर–६ का इन्चार्ज भरत गोराथोकीका अनुसार साउनदेखि कार्तिक २४ गतेसम्म ८० आमाले स्वास्थ्य चौकीमै सुरक्षित प्रसूति सेवा लिएका छन्।
यस्तै, स्वास्थ्य संयोजक कर्णका अनुसार साउनदेखि असोजसम्म वडा–२ मा ४९, वडा–४ मा ७३, वडा–५ मा ८९ महिलाले सुरक्षित प्रसूति गराएका छन्।

तर सबै वडामा अवस्थाले उस्तै सुधार भने देखिएको छैन। केही ठाउँमा रकम समयमै निकासा नहुँदा स्वास्थ्यकर्मीले टर्चको उज्यालोमा प्रसूति गराउनुपरेको समेत घटना देखा परेको छ। यसमा वली भन्छन्, “स्वास्थ्य सेवा रोकिने वा प्रभावित हुने अवस्था कुनै हालतमा स्वीकार्य छैन। जनप्रतिनिधि र कर्मचारी दुवै जिम्मेवार भएर सेवा अवरुद्ध नहुने वातावरण बनाउनु अनिवार्य छ।”