© २०२३
भैरहवा, १७ मङ्सिर ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा भन्सार कार्यालय, भैरहवाका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले भन्सार नाकामा हुने जाँच प्रक्रिया र कर प्रणालीका विषयमा आफ्नो भनाइ राखेका छन् ।
उनले अहिलेको अवस्थामा सरकारप्रति सबैको विरोधका स्वरहरू भइरहेको बताउँदै भन्सार जाँचमा साना र इमानदार यात्रुले बढी दुःख पाउने अवस्था आउन नदिने बताए । व्यवसायीहरूले एक सय रूपैया भन्दा बढीको समानमा भन्सार महुशल लगाउनु पर्ने माग राख्दा उनले यो अव्यवहारिक भएको बताए ।
प्रमुख भन्सार अधिकृत पौडेलले यसले “सेटिंग” मा सामान ल्याउने वा ठूला क्यारियरलाई माल ढुवानीमा खासै समस्या नहुने तर सामान्य यात्रुले साना सामान ल्याउँदा पनि भन्सार तिर्नुपर्ने बाध्यता हुने र यसले सरकार प्रति नागरिकको रोष बढाउने भएकोले तत्काल यो लागू नगर्नेे बताए ।
उनले साना यात्रुमाथि गरिने कडाइले राजस्वमा कुनै ठुलो असर नपर्ने र त्यसबाट आउने राजस्व जम्मा ५ देखि ६ प्रतिशत मात्रै हुने दाबी गरे । प्रमुख पौडेलले नेपालमा गाडीमा संसारमै सबभन्दा बढी कर लगाइने कुरा सत्य भए पनि त्यसको कारण राजस्व मात्र नभएको स्पष्ट पारे ।
उनका अनुसार गाडीमा उच्च कर लगाउनुको मुख्य कारण राजस्व मात्र नभएर नेपालको भौगोलिक अवस्था र सडक सञ्जालको व्यवस्थापन हो । गाडीको ओनरशिप कन्ट्रोल नगरिएमा यहाँ गाडी राख्ने ठाउँसमेत नहुने अवस्था आउन सक्ने भएकाले बाटोको अवस्था हेरेर पनि गाडीमा ट्याक्स लगाइएको उनले प्रष्ट पारे।
पौडेलले भन्सार कार्यालयमा पनि विचौलियाहरूको प्रभाव रहेको स्विकार्दै यसलाई चिर्दै लैजाने प्रतिवद्धता जनाए । विशेष गरि भारतीय पर्यटकको गाडी भन्सार गराउने प्रक्रियामा विचौलियाहरूले प्रभाव जमाएकोले भारतीय समकक्षीहरूको सहयोगमा यसलाई निर्मूल पार्ने उनको भनाइ छ । यस्तै राजस्व अनुसन्धान कार्यालय बुटवलका नव आगन्तुक कार्यालय प्रमुख राधेश्याम दहालले आफु व्यवसायी मैत्री वातावरण बनाउने स्पष्ट नीतिका साथ लागेको बताएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाले मंगलबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा दाहालले इमानदार व्यवसायी र राज्यलाई कर तिर्ने कसैलाई पनि दुःख दिने नियत कार्यालयको नरहेको स्पष्ट पारे । प्रमुख दाहालले कर तिर्ने व्यवसायीलाई कार्यालयले कुनै पनि हालतमा दुःख नदिने बताए ।
उनका अनुसार, कार्यालयको ध्यान राज्यलाई तिर्नुपर्ने कर नतिर्ने, छल्ने, र बिक्री बिल जारी नगर्ने जस्ता अनावश्यक कार्य गर्ने व्यवसायीहरूमाथि केन्द्रित हुनेछ । “जो व्यवसायी सच्चा व्यवहार गर्नुहुन्छ, जसले राज्यलाई तिर्नुपर्ने कर दाखिला गर्नुभएको छ, उहाँहरूलाई दुःख दिने हाम्रो पटक्कै उद्देश्य छैन,” प्रमुख दाहालले भने राज्यलाई कर छल्ने, बिक्री बिल जारी नगर्ने जस्ता अनियमितता गर्नेहरूमाथि कार्यालयले “निर्मम ढंगले” लाग्ने उनले बताए ।
कर छलेको वा राजस्व अनुसन्धानको विषयमा कुनै समस्या परेको खण्डमा बिचौलियाको भर नपरी स्वयं सम्बन्धित व्यवसायीले नै आएर कार्यालय प्रमुखसँग भेटेर आफ्ना कुरा राख्न उनले आह्वान समेत गरे । व्यवसायीहरूलाई कार्यालय आउँदा डराउनुपर्दैन भन्दै सुरक्षाको लागि गेटमा प्रहरीको प्रबन्ध हुने र कुनै पनि समस्या भएमा सिधै प्रमुख वा सम्बन्धित अधिकारीलाई भेट्न उनले अनुरोध गरे ।
यस अघि कार्यक्रममा बोल्दै उद्योगी तथा व्यवसायीहरूले भिसिटियस बिल, भन्सार जाँचपास, बिचौलियाका प्रभाव, अवैध नाकाबाट हुने चोरी निकासी सँगै राजस्व अनुसन्धानले त्रासको वातावरण बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरू विष्णु प्रसाद शर्मा, महेन्द्र कुमार श्रेष्ठ, कुल प्रसाद न्यौपाने, ठाकुर कुमार श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्य लगायतले बोल्दै अत्यधिक लजिष्टिक खर्च, अव्यावहारिक कर प्रणाली, निकासी उद्योगमा अनुदान कटौती र खुला सीमाबाट हुने चोरीतस्करी प्रमुख चुनौतीका रूपमा औंल्याए ।