© २०२३
रुपन्देही ।
तमु जातीय पहिचान, भाषा, भेषभूषा, संस्कार–संस्कृतिको संरक्षण तथा संचार क्षेत्रको भूमिकाबारे केन्द्रित ‘तमु ह्युला छोज धि’ र ‘तमु (गुरुङ) संचारकर्मी’ बीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा तमु (गुरुङ) संचारकर्मी संघका केन्द्रीय उपाध्यक्ष खिमा गुरुङले तमु समुदायको मौलिक पहिचान रहेको भाषा, भेषभूषा र संस्कृतिको संरक्षणका लागि संचारकर्मीहरू महत्वपूर्ण संवाहक हुने बताए । उनले नयाँ पुस्तालाई मातृभाषाको पहिचान दिलाउन संचार माध्यमबाट प्रसारित भाषिक सामग्रीहरूले विशेष प्रभाव पार्ने उल्लेख गर्दै यस किसिमको कार्यक्रमले युवा पुस्तालाई संचार पेशातर्फ उर्जा दिने विश्वास व्यक्त गरे ।
खेमालिपी अभियन्ता तथा सल्लाहकार भिमप्रसाद गुरुङले तमु संचारकर्मीको भूमिकामाथि प्रकाश पार्दै ‘तमु ह्युला छोज धि’ र ‘तमु संचारकर्मी संघ’ बीच मजबुत समन्वय आवश्यक रहेको कुरा जोड दिए ।
त्यसैगरी तमु ह्युला छोज धि गुरुङ राष्ट्रिय परिषद् लुम्बिनी प्रदेश प्रमुख झप्पटबहादुर गुरुङले तमु समुदाय र संचारकर्मीबीचको सम्बन्ध ‘नङ र मासु’ जस्तै अबिभाज्य रहेको टिप्पणी गरे । उनले तमु धर्म, संस्कृति र परम्परालाई आत्मसात गर्दै भाषा, भेषभूषा र संस्कारको संरक्षणमा संचारकर्मीको उल्लेखनीय भूमिका रहने बताए ।
कार्यक्रममा तमु ह्युला छोज धिका अध्यक्ष रामबहादुर गुरुङ लगायतले आफ्नो धारणा राखेका थिए । अन्त्यमा, कार्यक्रम तमु (गुरुङ) संचारकर्मी संघ रुपन्देहीका अध्यक्ष चित्रबहादुर गुरुङ, मनु गुरुङलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।