© २०२३
काठमान्डौ, १६ मंसिर ।
नेकपा एमालेले ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट क्रममा देखिएका विवाद समाधानको जिम्मेवारी सम्बन्धित प्रदेश कमिटी, जिल्ला इन्चार्ज तथा केन्द्रीय संगठन विभागबाट खटाइएका प्रतिनिधिलाई दिएको छ । संगठन विभागका सचिव माधव ढुङ्गेलका अनुसार अन्तर्विरोध देखिएका स्थानमा स्थानीय संरचनाले सहजीकरण गर्दै समस्या समाधानको प्रक्रिया अघि बढाइरहेका छन् ।
ढुङ्गेलले भने, “अन्तर्विरोध देखिएका स्थानमा सोही प्रदेशका इन्चार्ज, जिल्ला इन्चार्ज र संगठन विभागबाट खटाइएका प्रतिनिधिले सहजीकरण गरेर विवाद मिलाउने जिम्मा पाएका छन् । कतिपय स्थानमा मिलिसकेको छ भने कतिपयमा आज बेलुकासम्म मिलिसक्छ ।”
उनका अनुसार सुदूरपश्चिमको बझाङमा प्रतिनिधि दोहोरोपनाको समस्या थियो भने कर्णालीको दैलेख र सल्यानमा चयनसम्बन्धी केही जटिलता देखिएको थियो । “कर्णालीको समस्या टुंगिएको छ । मधेसको पर्सा र रौतहट, गण्डकीको तनहुँ–१ मा देखिएका समस्या मिलाउने प्रक्रिया जारी छ । कोशीमा ओखलढुङ्गा र धनकुटाको विवाद समाधानका लागि काम भइरहेको छ,” ढुङ्गेलले बताए ।
एमालेले मङ्सिर १३ गते देशभर प्रतिनिधि चयन गरी मङ्सिर १५ भित्र नाम केन्द्रमा पठाउन सर्कुलर गरेको थियो । तर, तोकिएको समयमै नाम केन्द्रमा नआएकाले प्रदेशमै कलेक्सन र डाटा अपडेटिङको काम चलिरहेको ढुङ्गेलले बताए ।
उनका अनुसार सात भूगोलसहित नौ प्रदेश कार्यालयमा प्रतिनिधिहरूका नाम सङ्कलन र विवरण मिलाउने काम भइरहेको छ । “प्रदेश कार्यालयमा तलबाट आएका निर्णयका आधारमा सेटअप र फर्म्याटिङ भइरहेको छ । यो प्रक्रिया सकिएपछि मात्र प्रतिनिधिहरूको नाम केन्द्रमा पठाइनेछ,” उनले स्पष्ट पारे ।
एमालेको ११औँ महाधिवेशन मङ्सिर २७ देखि २९ सम्म आयोजना हुँदैछ । महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल नेतृत्व समूहबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।