© २०२३
एक सय ८५ किलोमिटर सडक निर्माणको काम सम्पन्न गर्न कति समय लाग्ला ? विदेशमा भए यसको सजिलै उत्तर आउँछ थोरैमा ६ महिना वा बढीमा एक वर्ष ।
तर, नेपालमा भने १६ वर्ष अघि सुरु भएको एउटा आयोजना अझै पूरा हुन सकेको छैन । प्रसङ्ग हो– सालझण्डी ढोरपाटन सडक आयोजनाको ।
ट्रयाक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ । विडम्बना नै भन्नुपर्दछ– वि.सं २०८० वैशाखमा ग्राभेल गरिसक्नुपर्ने भए पनि अहिलेसम्म जम्मा ६१ प्रतिशत मात्रै काम सकिएको छ ।
अर्को आश्चर्य के छ भने निर्माण कम्पनीले अहिले तेस्रो पटक म्याद थप गरेर काम गरिरहेको छ तर पनि काम एकदमै सुस्त गतिमा भइरहेको छ । विसं २०६६ मा रुपन्देहीदेखि सुरु भएको यो सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पा हुँदै ढोरपाटन जोडिएको छ ।
रुपन्देही, अर्घाखाँची, पाल्पा र गुल्मी जिल्लामा काम भए पनि बागलुङ खण्डमा अपेक्षा अनुसार काम हुन सकेको छैन । यतिका समयसम्म काम सम्पन्न नहुँदा हिउँदमा हिलो र बर्खामा धुलोले स्थानीय र ढोरपाटन आउन पर्यटकले सास्ती खेप्नुपरेको छ । त्यसो त समयमै आयोजना निर्माण नहुनु यो सडकको मात्रै होइन, नेपालकै तीतो यथार्थ हो । सुरु भएका धेरै आयोजना एक बर्षमात्रै होइन वषौँसम्म अलपत्र हुने गरेका छन् ।
यो सडक निर्माण सुरु भएको डेढ दशक हुँदा पनि पूरा हुन नसक्नुले नेपालको काम गराइको शैलीलाई गिज्याई रहेको छ । पूर्वाधार निर्माणका क्षेत्रमा बर्षौंदेखि हेलचेक्राई गर्दै आएको यो एउटा पछिल्लो उदाहरण मात्र हो ।
निर्माणको काम अलपत्र पार्ने, बीचमै छोड्ने गरेको र त्यसका कारण जनताले सास्ती पाएको घटना धेरैछन् । जनताले समयमै निर्माण सम्पन्न गर्न दवाव दिएपनि जनताको आवाज सुनुवाई हुँदैन । बरु निर्माण कम्पनीलाई पहिलेभन्दा मूल्य बढाएर थप रकम उपलब्ध गराउने गरिएको छ ।
सरकारले धार्मिक पर्यटकीय स्थल लुम्बिनीबाट बाग्लुङको ढोरपाटनसम्म जोड्ने उद्देश्यले राष्ट्रिय प्राथमिकताको आयोजनाको रूपमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको काम सुरु गरेको थियो तर डेढ दशकसम्म पनि निर्माण पूरा हुन सकेको छैन ।
यो सडकका कारण जनताले पाएको सास्ती नेपालका अरू धेरै सडकमा यात्रा गर्ने नेपालीले पनि पाएका छन् । सडक निर्माणको कामको दौरानमा पर्याप्त बजेट विनियोजन नहुनु, निर्माण व्यवसायीको लापरबाही, स्थानीयसँग विवाद लगायतका कारण काम सुस्त भएको छ ।
सडक निर्माणको काम समयमै पूरा नहुनुका पछि धेरै कारण होलान तर प्रमुख कारण भनेको निर्माण ब्यवसायीहरूले पनि काममा ढिलासुस्ती गर्नु हो भन्दा अत्युक्ति हुँदैन ।
सालझण्डी ढोरपाटन सडक निर्माणको काम सुरु भएको डेढ दशक पूरा भैसकेको छ । १६ बर्षको समय आफैमा एउटा युग हो । सानो बच्चा जन्मिएर नौजवान हुने समय हो तर दुःखको कुरा यति लामो समयमा पनि सडक निर्माण कहिले पूरा हुने हो अहिलेसम्म टुंगो छैन ।
सडक शिलान्यास हुँदा समयभित्रै उक्त सडक बन्छ भनेर मन्त्री र साँसदले भाषण गरेको त्यस क्षेत्रका जनताले अझै विर्सिएका छैनन् । तर, समयमै सडक निर्माणको कुरा त परै जाओस, कामको गति एकदमै सुस्त छ ।
यो सडक समयमै नबन्दा त्यस क्षेत्रका हजारौं जनतालाई समस्या परेको छ । यात्रा सकसपूर्ण भइरहेको छ । हिउँदमा धुलो र बर्षामा हिलो त्यो सडकको नियति बनेको छ ।
१ सय ८५ किलोमिटर लामो सडक बनाउन १६ वर्ष बढी समय लाग्नु र त्यो पनि अहिलेसम्म निर्माण सकिने मितिसम्म पनि पूरा नहुनु चिन्ताको बिषय हो । सरकारले समयमै चासो दिएर निर्माणको काममा तदारुकता देखाएको भए यो अवस्था आउने थिएन ।
अतः सालझण्डी ढोरपाटन सडक निर्माणमा सरकारको ध्यान पुगोस् ।