© 2026
काठमान्डौ, १६ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफूखुसी उम्मेदवारी घोषणा गरिरहेको विषयप्रति आपत्ति प्रकट गरेको छ । पार्टीले उम्मेदवार चयन प्रक्रिया निर्धारित रूपरेखा र औपचारिक विधिअनुसार मात्र अघि बढ्ने हुँदा व्यक्तिगत रूपमा अभिव्यक्ति नदिन अनुरोध गरेको हो ।
एक विज्ञप्ति जारी गर्दै रास्वपाले रुपन्देही क्षेत्र नं। ३ का लागि मात्र उम्मेदवार औपचारिक रूपमा छानिएको स्पष्ट गर्दै अन्य कुनै पनि निर्वाचन क्षेत्रमा अहिलेसम्म पार्टीले आधिकारिक उम्मेदवार टुङ्गो नलगाएको जानकारी गराएको छ ।
विज्ञप्तिमा भनिएको छ, “पार्टीको आधिकारिक निर्णय नभइसकेको अवस्थामा कुनै पनि निर्वाचन क्षेत्रका उम्मेदवारसम्बन्धी भ्रामक, अपुष्ट वा अफवाह फैलिने खालका वक्तव्य, प्रचार–प्रसार वा गतिविधि नगर्न–नगराउन सम्पूर्ण नेता, सदस्य, संरचना तथा शुभेच्छुकहरूलाई अनुरोध गर्दछौँ ।”
पार्टीले उम्मेदवार छनोट प्रक्रियाप्रति पूर्ण विश्वास राखी अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै अघि बढ्न सबैलाई अपील गरेको छ ।
