© २०२३
काठमाडौँ ।
आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र बन्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता तथा कार्यकर्तालाई स्वघोषित उम्मेदवारी घोषणा गर्न तत्काल रोक लगाउन निर्देशन दिएको छ ।
पार्टीको औपचारिक निर्णयबिना नेता र कार्यकर्ताले उम्मेदवार घोषणा गर्दै आएपछि रास्वपाले यस्तो आग्रह गरेको हो । उम्मेदवार छनोट समितिका संयोजक विपिन कुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै तत्काल रोक लगाउन आग्रह गरेका छन् ।
रास्वपाका केही नेताहरूले “ यो क्षेत्रको उम्मेदवार मै हुँ ” भनी उम्मेदवारी सार्वजनिक गर्न थालेका थिए । तर, पार्टीले यस्तो गतिविधि अनधिकृत र पार्टीको आधिकारिक निर्णय विपरीत भएको स्पष्ट पारेको छ ।
रास्वपाले जारी गरेको विज्ञप्तिमा उम्मेदवार छनोटको प्रक्रिया पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्रै अघि बढ्ने स्पष्ट गरिएको छ । पार्टीले हालसम्म रुपन्देही क्षेत्र नम्बर ३ का लागि मात्र उम्मेदवार औपचारिक रूपमा चयन भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ “पार्टी नीति अनुरूप रुपन्देही क्षेत्र नम्बर ३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा चयन भएको छ । यसबाहेक अन्य कुनै पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लागेको छैन ।”
पार्टीले आधिकारिक निर्णय नभएसम्म कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवारसम्बन्धी भ्रामक, अपुष्ट वा अफवाह फैलिने खालका वक्तव्य, प्रचार–प्रसार वा गतिविधि नगर्न पनि चेतावनी दिएको छ ।