© २०२३
काठमाडौँ, १६ मंसिर ।
पाकिस्तानी युवा अलराउण्डर माज सदाकतले ६३ रन बनाए । माजले एनपीएलमा पहिलो अर्धशतक प्रहार गर्दै ३० बलमा ६ चौका र ४ छक्का प्रहार गरी ६३ रन जोडे । उनले २४ बलमै अर्धशतक पूरा गरेका थिए ।
माज र अनिल शाहको अर्धशतकमा जनकपुर बोल्ट्सले लगातार चार खेलको जितविहीन यात्रालाई तोड्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पहिलो जित हात पारेको छ ।
जनकपुरले चितवन राइनोजले दिएको १७७ रनको लक्ष्य १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । पहिलो जितपछि जनकपुरले ५ खेलबाट २ अंक जोड्दै अंकको खाता खोलेको छ र प्लेअफको झिनो सम्भावना कायम गरेको छ ।
उता चितवनको पाँच खेलमा यो तेस्रो हार हो । पाँच खेलबाट ४ अंकसहित चितवन चौथो स्थानमा छ ।
अघिल्लो खेलमा सुदूरपश्चिमविरुद्ध ड्रप भएका अनिल शाह चितवनविरुद्ध प्लेइङ एघारमा फर्कँदै सानदार ब्याटिङ गरे । उनले ३६ बलमा ६१ रन बनाए, जसमा ४ चौका र ३ छक्का समावेश थिए ।
पहिलो विकेटका लागि माज र आसिफ शेखले ४५ रनको साझेदारी गर्दै जनकपुरलाई राम्रो सुरुवात दिलाए । आसिफ १७ बलमा १८ रन बनाएर छैटौं ओभरमा आउट भए । त्यसपछि माजले अनिलसँग दोस्रो विकेटका लागि ७९ रनको अर्धशतकीय साझेदारी गर्दै जितको आधार तयार पारे ।
कप्तान कुशल मल्लले अन्तिम ओभरमा १४ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरी अविजित ३० रन जोड्दै टिमलाई जित दिलाए ।
बलिङमा चितवनका सोहेल तनविर, कमलसिंह ऐरी र अमर सिंह राउटेले समान १-१ विकेट लिए भने, जनकपुरका लागि माज सदाकत, अनिल शाह, रुपेश सिंह र लफ्टी इटनले समान १-१ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले डाविड मालानको उत्कृष्ट प्रदर्शनमा २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो ।
चितवनका लागि ओपनर डाविड मालानले सर्वाधिक ८० रन बनाए भने अर्जुन साउदले ५२ रन जोडे । कप्तान कुशल मल्लले अविजित ३० रन जोडेका थिए । मालान र अर्जुनले पहिलो विकेटका लागि ११२ रनको साझेदारी गरे, जुन सिजन चौथो शतकीय साझेदारी र पहिलो विकेटका लागि दोस्रो शतकीय साझेदारी हो ।
ओपनिङ जोडीले उत्कृष्ट सुरुवात दिलाएपनि त्यसपछिका ब्याटरहरू आउट भए । मालान १९औँ ओभरमा ५४ बलमा ४ चौका र ५ छक्का प्रहार गरी आउट भए । अर्जुन साउदले ३९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५२ रन बनाए ।