Butwal Today

चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

१६ मंसिर २०८२, मंगलवार
अ+
अ-

 काठमाडौँ, १६ मंसिर ।

डाविड मालानको उत्कृष्ट ब्याटिङमा चितवन राइनोजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको हो ।

चितवनका लागि ओपनर डाविड मालानले सर्वाधिक ८० रन बनाए भने अर्जुन साउदले ५२ रन जोडे । कप्तान कुशल मल्लले अविजित ३० रन जोडे । मालान र अर्जुन साउदले पहिलो विकेटका लागि ११२ रनको साझेदारी गर्दै टोलीलाई उत्कृष्ट सुरुआत दिलाए ।

चितवनले नियमित ओपनर दीपक बोहरालाई ड्रप गर्दै आज अर्जुन साउदलाई मालानसँग ओपनिङ गराएको थियो, जुन निकै सफल भयो । दुवै ओपनरले अर्धशतक प्रहार गर्दै शतकीय साझेदारी बनाए ।

यस सिजनको यो चौथो शतकीय साझेदारी हो भने पहिलो विकेटका लागि दोस्रो शतकीय साझेदारी हो । साथै पहिलो विकेटका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी पनि यही हो । यसअघि सुदूरपश्चिमका विनोद भण्डारी र जोश ब्राउनले पोखरा एभेन्जर्सविरुद्ध १०८ रनको साझेदारी गरेका थिए ।

ओपनिङ जोडीले उत्कृष्ट सुरुआत दिलाए पनि त्यसपछिका ब्याटरहरू नियमित रूपमा आउट भइरहे ।

मालान १९औं ओभरमा आउट हुने क्रममा ५४ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ८० रन बनाए । जनकपुरका माज सदाकतले उनलाई एलबीडब्लुको जालमा पारे ।

यस सिजन पहिलो पटक ओपनिङ गरेका अर्जुन साउदले ३९ बलमा ४ चौका र ३ छक्का मद्दतमा ५२ रन बनाए । उनलाई निकोल लफ्टी इटनले सञ्जय कृष्णमूर्तिको बलमा क्याचआउट गराए । १४औं ओभरमा ५२ रन हुँदा अर्जुनको क्याच आदित्य महताले छाडे पनि अर्को बलमै कृष्णमूर्तिले क्याच समातेर उनलाई पभेलियन फर्काएका थिए ।

तेस्रो क्रममा आएका सैफ जैब ५ बलमा ७ रन बनाएर १५औं ओभरमा आउट भए । यस सिजन उत्कृष्ट फर्ममा रहेका रबि बोपारा पनि आज सस्तैमै ५ बलमा ३ रन बनाएर पभेलियन फर्किए ।

एक छेउबाट लगातार विकेट खस्दा अर्कोतर्फबाट टिमलाई सम्हालिरहेका मालान पनि १९औं ओभरमा आउट भए ।

अन्तिम चरणमा कप्तान कुशल मल्लले आक्रमक ब्याटिङ गर्दै अन्तिम ओभरमा मात्रै दुई छक्का र एक चौका प्रहार गरी १८ रन जोडे । उनले १४ बलमा २ चौका र २ छक्का मद्दतमा अविजित ३० रन बनाए ।

जनकपुरका लागि माज सदाकत, अनिल शाह, रुपेश सिंह र लफ्टी इटनले समान १–१ विकेट लिए ।