© २०२३
काठमाडौं, १६ मंसिर ।
मंगलबार सेयर बजारको परिसूचक नेप्से झिनो अंकमा घटेको छ । ०.५३ अंक घटेसँगै नेप्से २६४४.७० मा कायम भएको छ । कारोबारका क्रममा दिउँसो १२:५१ बजे नेप्से २६५२ अंकसम्म पुगेको थियो, जुन आजका लागि उच्चतम अंक रह्यो ।
अघिल्लो दिन नेप्से ४ अंकले घटेको थियो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडमा खुम्चिएको छ ।
कुल १२५ कम्पनीको मूल्य बढ्दा, ११९ कम्पनीको मूल्य घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो । यस दिन सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।
बैंकिङ ०.५८, होटल तथा पर्यटन ०.६२, लगानी ०.०४, जीवन बीमा ०.५७ र माइक्रोफाइनान्स ०.०६ प्रतिशतले घटेका छन् । त्यस्तै विकास बैंक ०.१७, फाइनान्स ०.२७, जलविद्युत् ०.७०, उत्पादन तथा प्रशोधन ०.५१, निर्जीवन बीमा ०.२६ प्रतिशतले बढेका छन् । अन्य समूह स्थिर रहे ।
बजार घटे पनि ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुङ्गल हाइड्रोपावर र श्रीनगर एग्रिटेक छन् ।
त्यस्तै, रसुवागढी हाइड्रोपावर ८.६१, विकास हाइड्रोपावर ६.४८, दरामखोला हाइड्रोपावर ६.२७, पिपुल्स हाइड्रोपावर ६.१८ प्रतिशतले मूल्य बढाएको छ ।
सबैभन्दा धेरै मूल्य घटाउने कम्पनी ग्रिन भेन्चर्स भएको छ, जसको मूल्य ९.८५ प्रतिशतले घटेको छ । स्टान्डर्ड चार्टर्ड बैंक ३.८८ र पोखरा फाइनान्स २.५० प्रतिशतले घटेका छन् ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनियन हाइड्रोपावर, माउन्टेन इनर्जी, ङादी ग्रुप, ग्रिन भेन्चर्स र युनाइटेड मोदी हाइड्रोपावर रहेका छन् ।