Butwal Today

चितवन राइनोजले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै

१६ मंसिर २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, १६ मंसिर ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले टस जितेर जनकपुर रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।

आजको खेलका लागि चितवनले दुई परिवर्तन गरेको छ । दीपक बोहरा र रिजन ढकालको स्थानमा अमरसिंह राउटेला र आइकोनिक खेलाडी सौगात ढकाललाई टोलीमा समावेश गरिएको छ । चितवन पछिल्ला खेलहरूमा विदेशी खेलाडीमा बढी निर्भर देखिएको छ । पहिलो खेल जितेपछि दोस्रो खेलमा पराजित भएको चितवनले तेस्रो खेलमा पुनः जीत निकाले पनि चौथो खेलमा पराजित भएको थियो ।

जनकपुरले पनि आजको खेलका लागि दुई परिवर्तन गरेको छ । ललित राजवंशी र किशोर महतो बाहिरिएसँगै अनिल साह र सचिन भट्ट टोलीमा फर्किएका छन् ।

अघिल्लो खेलमा जनकपुरले कप्तान अनिल साहलाई बेन्चमा राख्दै दक्षिण अफ्रिकी खेलाडी वायन पार्नेललाई कप्तानी दिएको थियो, तर नतिजामा सुधार गर्न सकेन । जनकपुर काठमाण्डु गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग लगातार हार बेहोर्दै प्लेअफ प्रतिस्पर्धाबाट टाढिदै गएको छ । आजको खेल जितेर जनकपुर गणितीय हिसाबले भए पनि प्लेअफको सम्भावना जोगाउन चाहन्छ ।

चितवनले यसअघि कर्णाली याक्सलाई पराजित गरेपछि लुम्बिनी लायन्ससँग हार बेहोरेको थियो । त्यसपछि विराटनगर किङ्सलाई हराए पनि काठमाण्डु गोर्खाजसँग पराजित भयो । चितवनले अब सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ।

चार खेलमा दुई जितसहित ४ अंक जोडेको चितवन आजको खेल जितेमा प्लेअफ नजिक पुग्नेछ । पराजित भएमा बाँकी दुवै खेल जित्नुका साथै अन्य नतिजामा समेत निर्भर रहनुपर्ने अवस्था आउनेछ र नेटरनरेट पनि निर्णायक बन्न सक्छ ।

जनकपुरका लागि आजको खेल महत्वपूर्ण छ । सुरुवाती चारै खेलमा हार व्यहोरेको जनकपुरले अब बाँकी तीनै खेल जितेर पनि अन्य टिमहरूको नतिजामा भर पर्नुपर्नेछ । आज हार बेहोरेमा जनकपुर प्रतियोगिताबाट बाहिरिनेछ ।