© २०२३
काठमान्डौ, १६ मंसिर ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन जारी गरेको परमादेशको पत्र अहिलेसम्म प्राप्त नभएको बताएका छन् । सर्वोच्च अदालतले सोमबार नै मुख्यमन्त्री यादवलाई विश्वासको मतको प्रक्रिया तत्काल अघि बढाउन आदेश दिएको थियो ।
पत्र नपुगेको स्पष्ट गर्दै उनले भने, “अब केही बेरपछि मेल खोल्छु, चिठी आएको छ कि छैन भन्ने हेर्छु ।” उनले सर्वोच्च अदालतको आदेशलाई शिरोधार्य गरी आवश्यक प्रक्रियामा अघि बढ्ने बताएका छन् ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिन नसके राजीनामा दिन सक्ने संकेत पनि गरेका छन् । विश्वासको मत प्राप्त गर्नका लागि परामर्श प्रक्रिया तीव्रगतिमा चलिरहेको उल्लेख गर्दै उनले भने, “सर्वोच्चको परमादेशलाई शिरोधार्य गर्दै विश्वासको मतका लागि परामर्श अघि बढाएको छु । विश्वासको मत लिन सकिन्छ कि सकिँदैन भन्ने कुरा चाँडै नै स्पष्ट हुन्छ । विश्वासको मत लिन नसक्ने अवस्था आएमा राजीनामा दिन्छु ।”