© २०२३
भैरहवा, १६ मंसिर ।
सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख तथा संविधानसभा सदस्य इश्तियाक अहमद खानले भारतसँग जोडिएको बेलहिया नाकालाई पर्यटनमैत्री र सुन्दर बनाउने उद्देश्यले सोमबार सरोकारवालाहरूसँग छलफल तथा स्थलगत अवलोकन गरेको छ ।
यसअघि जेनजी आन्दोलनका कारण रोकिएको बेलहिया नाका सुन्दरीकरण तथा हरियाली अभियानको कामलाई सुरु गराउन नगरप्रमुख खानले लुम्बिनी प्रदेश सरकारबाट बजेट विनियोजन गरिसकेका छन् ।
तत्काल काम अघि बढाउने विषयमा उनले लुम्बिनी पर्यटन परिषद्का कार्यकारी निर्देशक रामु जोशी, पर्यटन डिभिजन कार्यालय रूपन्देहीका प्रमुख नेत्रप्रसाद भुसाल, इन्जिनियर रेशमराज आचार्यसहित सरोकारवालाहरूसँग स्थलगत निरीक्षण गर्दै विस्तृत छलफल गरेका हुन ।
“बेलहिया नाका नेपालको प्रमुख प्रवेशद्वारमध्ये एक हो । यसलाई सफा, सुन्दर र पर्यटनमैत्री बनाउन सकेमा लुम्बिनी भ्रमणमा आउने पर्यटकको पहिलो प्रभाव सकारात्मक पर्छ,” नगरप्रमुख खानले भनेको छ ।
लुम्बिनी पर्यटन परिषद्का कार्यकारी निर्देशक रामु जोशीले बेलहिया नाकाको सुन्दरीकरणले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्ने बताए ।
पर्यटन डिभिजन कार्यालय रूपन्देहीका प्रमुख नेत्रप्रसाद भुसालले प्राविधिक तथा बजेटको हिसाबले काम अघि बढाउन कुनै समस्या नरहेको जनाए ।
नगरप्रमुख खानले चाँडै काम अघि बढाएर सुन्दरीकरण, हरियाली, फुटपाथ, सडक बत्ती, स्वागतद्वारलगायत काम एकैसाथ सुरु गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बेलहिया नाका सुन्दरीकरणले नेपाल–भारत सीमा क्षेत्रको मुहार फेरिने र लुम्बिनी आउने पर्यटकको संख्या बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।