© २०२३
काठमाडौँ, १६ मंसिर ।
भारतको उत्तरप्रदेशस्थित बलरामपुर जिल्लामा नेपाली सवार बस ट्रकसँग ठोक्किएर आगो लागेको छ ।
आगोमा जलेर बसमा सवार ३ जनाको मृत्यु पुष्टि भएको छ भने २४ जना घाइते भएका छन् । तीमध्ये ६ जनाको अवस्था गम्भीर छ । मृतक र घाइतेको पहिचान अहिलेसम्म खुल्न सकेको छैन ।
यूपी २२ एटी ०२४५ नम्बरको बस र यूपी २१ डीटी ५२३७ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे २ बजेतिर कोतवाली देहात थाना क्षेत्रको फुलबरिया सडकमा ठोक्किएका हुन् ।
बस करिब १०० मिटरसम्म घिस्रिँदै गएर हाइटेन्सन लाइनको बिजुलीको खम्बासँग ठोक्किएको थियो । खम्बा भाँचिएर बसमाथि खस्दा करेन्ट फैलिएको र आगो लागेको भारतीय मिडियाहरूले जनाएका छन् ।
सो बस नेपाल–भारत सिमाना नजिकको सुनौलीबाट दिल्ली तर्फ जाँदै थियो । बसमा ४५ यात्रु सवार थिए भने तीमध्ये अधिकांश नेपाली रहेको दैनिक भाष्करले जनाएको छ ।