© २०२३
पाल्पा ।
तानसेन नगरपालिका–अन्तर्गत अर्गली गाउँ आफ्नो भौगोलिक परिचय मात्र होइन, ४ सय वर्षदेखि निरन्तर रूपमा चलिरहेको परम्परागत कुलो (नहर) प्रणालीका कारण देश–विदेशमा विशिष्ट पहिचान बनाइरहेको छ। आधुनिक युगमा समेत वैज्ञानिकरूपमा प्रभावकारी रहेको यो कुलोपद्धतिलाई अध्ययन–अवलोकन गर्न देशभरका उत्कृष्ट कृषकदेखि विदेशी प्राविधिक टोलीसम्म आउने गरेका छन्।
स्थानिय कृषक कृष्णप्रसाद पराजुलीका अनुसार सेनकालीन शासनमा निर्मित यस कुलो प्रणालीले अर्गलीलाई अन्य गाउँभन्दा अलग पहिचान दिएको छ। “कुलोले मात्रै सिंचाइ दिएको होइन, यसले सामाजिक सद्भाव, श्रम संस्कृति र अनुशासनको अद्वितीय उदाहरण स्थापित गरेको छ,” स्थानिय श्रीधर भट्टराई बताउँछन्।
इतिहासकारका अनुसार पाल्पाका राजा मणिमुकुन्द सेन (१५७५–१६००) को शासनकालमा भैरवस्थान नजिकको ‘सिलाथोक डाँडा’ दरबार क्षेत्र थियो। एक अवसरमा राजा स्नान गर्न रिडी पुगेका बेला चतुर्वाही विष्णुको प्रतिमा भेटिएपछि त्यही स्थानमा मन्दिर निर्माण गरियो। मन्दिरमा नित्य पूजा गर्न चाहिने अक्षताको स्रोतका रूपमा धान उत्पादन आवश्यक परेपछि अर्गलीको जमिन छनोट गरियो।
तर अर्गलीमा सिंचाइका सुविधा नहुँदा राजा मणिमुकुन्द सेनले स्थानीय श्रम तथा सीप प्रयोग गरेर कुलो निर्माण गराएका थिए। यही कुलोबाट सुरु भएको पानी वितरण प्रणाली ४ सय वर्ष बिते पनि अझै वैज्ञानिक, न्यायोचित र प्रभावकारी छ। यही विशेषताका कारण अहिले पनि विदेशी कृषि प्राविधिकहरू अध्ययनका लागि पुग्ने गर्छन्।
जोर्तेबाट ३ किलोमिटर टाढासम्म पानी ल्याइने कुलो बनाउन करिब १ सय १४ स्थानमा प्वाल पारेर भित्रको माटो निकालिएको थियो। इतिहासकारका अनुसार कुलो निर्माणमा आग्री जातिका कुशल श्रमिक प्रयोग भएका थिए।
अहिले अर्गलीमा ४ सय परिवार प्रत्यक्ष रूपमा यस कुलोबाट लाभान्वित छन्। माग बढेसँगै समयक्रममा जेठी, माइली, साहिली र कान्छी नामक चारवटा कुलो थप निर्माण गरियो।
कुलोबाट सिंचाइ हुने २ किलो ‘फाँट’ क्षेत्र आज पनि वर्षभर हरियाली देखिन्छ। खेतको क्षेत्रफलअनुसार श्रमदानको व्यवस्था छ—४० मुरी धान उत्पादन हुने जमिनका मालिकले १ जनाले श्रमदान गर्नुपर्छ।
कुलोमा ‘साँचो’ राखेर पानी वितरण हुने भएकाले भेदभाव रहित, पारदर्शी र वैज्ञानिक पद्धति कायम रहन्छ। स्थानीयको भनाइअनुसार कुलोको एक छेउबाट अर्कोतिर समान रूपमा सिंचाइ हुने प्रणाली नेपालमै अद्वितीय मानिन्छ।
अर्गलीलाई जिल्ला कै उर्वर भूमि मानिन्छ। खाद्यान्न, तरकारी, दलहन तथा तेलहनका प्रचुर सम्भावना रहे पनि अधिकांश कृषक निर्वाहमुखी खेतीमा सीमित छन्। प्रदेश सरकारले व्यवसायिक कृषि प्रवर्द्धनका लागि स्पष्ट नीति नबनाउँदा सम्भावना उपयोग हुन नसकेको स्थानीय कर्णबहादुर रानाको भनाइ छ।
अर्गलीमा उन्नत जातका लिची र आप उत्पादनको उच्च सम्भावना भए पनि तीन तहका सरकारबाट समन्वित नीति नआएको कारण कृषक व्यवसायीक बनाउन कठिनाइ भएको उनीहरू बताउँछन्।
हालका वर्षमा सडक सञ्जाल र कालीगण्डकी करिडोर विस्तारसँगै अर्गलीका डाँडा–डाँडाका बासिन्दा तल झरेपछि खेतमा बस्ती बस्ने क्रम बढेको छ। यसले खेती योग्य जमिन घट्दै गएको र कुलोबाट सिंचाइ हुने क्षेत्र पनि सीमित हुँदै गएको स्थानीयको गुनासो छ।
लामो इतिहास, सामूहिक श्रम संस्कार, वैज्ञानिक पानी वितरण र हरियाली खेतीका कारण अर्गली नेपालकै नमुना कृषि गाउँका रूपमा चिनिँदै आएको छ। परम्परागत ज्ञान र ऐतिहासिक सम्पदाको संरक्षण गर्दै आधुनिक कृषि प्रणाली जोड्न सके अर्गलीलाई कृषि–पर्यटनका उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानियको विश्वास छ।