© २०२३
बुटवल, १५ मंसिर ।
रुकुमबाट समानुपातिक तर्फ प्रदेश सभा सदस्य रहेकी सरिता पुनको निधनपछि रिक्त रहेको सदस्य पदमा एमालेकी रेवती गुरुङ नियुक्त भएकी छन्। निर्वाचन आयोगको २०८२/०८/११ को निर्णयअनुसार निधनका कारण पद रिक्त भएपछि गुरुङलाई नयाँ सदस्य घोषणा गरिएको हो।
रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीय सदस्य सरिता पुनको गत भदौँ १४ गते उपचारका क्रममा निधन भएको थियो।
सरिता पुनको निधनपछि रिक्त भएको समानुपातिक सूचीमा महिलाअन्तर्गत आदिवासी जनजाति कोटाबाट प्रतिनिधित्व गर्ने क्रमअनुसार रुपन्देहीको देवदह नगरपालिका–५ निवासी रेवती गुरुङलाई मनोनयन गरिएको हो। गुरुङ एमालेको बन्दसूचिमा क्रम संख्या १३ मा रहेकी थिइन् र प्राथमिकता सूचीको पहिलो स्थानमा परेको कारण रिक्त पदमा नियुक्त हुन पाएकी हुन्।
प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३०(२) तथा निर्वाचन नियमावली, २०७४ को नियम ४७(५) बमोजिम रिक्त स्थानमा सूचीकृत क्रमअनुसारका उम्मेदवार नियुक्त गरिने संवैधानिक व्यवस्था अनुसार निर्वाचन आयोगले गुरुङलाई नियुक्त गरेको हो।
सांसद रेवती गुरुङले आज प्रदेश सभका सभामुख तुलाराम घर्तीसमक्ष शपथ ग्रहण गरेकी छन्।