Butwal Today

नेपाल राष्ट्र बैंकद्वारा पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, नीतिगत दर घट्यो

१५ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १५ मंसिर ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा बुधबार सार्वजनिक गरेको छ । समीक्षा मार्फत केन्द्रीय बैंकले लचिलो मौद्रिक दिशा अवलम्बन गर्दै ब्याजदर करिडोरका दरहरू घटाउने र व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा विस्तार गर्ने निर्णय गरेको छ ।

समीक्षाअनुसार ब्याजदर करिडोरको माथिल्लो सीमा मानिने स्थायी तरलता सुविधा दर ६.०० प्रतिशतबाट घटाई ५.७५ प्रतिशत गरिएको छ । त्यस्तै, नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ प्रतिशतमा झारिएको छ । निक्षेप सङ्कलन दर भने २.७५ प्रतिशतमै यथावत राखिएको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा पनि बढाइएको छ । अब यस प्रकारको कर्जा सीमा ५० लाखबाट वृद्धि गरी १ करोड रुपैयाँ पुर्‍याइएको छ ।

यसबाहेक, संस्थागत मुद्दती निक्षेपको ब्याजदरलाई व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम राख्नुपर्ने बाध्यात्मक व्यवस्था राष्ट्र बैंकले खारेज गरेको छ ।