© २०२३
काठमाडौँ ।
आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा २५ वटा नयाँ दल दर्ता भएका छन् ।
नयाँ दर्ता भएका २५ दलसहित यसपटक आयोगमा दर्ता भएका दलहरूको संख्या ११९ पुगेको छ । दल दर्ताका लागि १२० दलले निवेदन दिए पनि ११९ दल मात्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
निर्वाचन आयोगले सुरुमा मंसिर १ देखि १० गतेसम्म दल दर्ताका लागि निवेदन दिने समय निर्धारण गरेको थियो । त्यसपछि आयोगले चार दिन समय थपेको थियो । थपिएको समय पनि आइतबार सकिएको छ ।
अब निवेदनको छानबिनपछि मंसिर २० गते दर्ता भएका दलहरूको अन्तिम सूची प्रकाशित गरिने आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार १४ दलबाट दुई वा सोभन्दा बढी दल मिलेर एकल चुनाव चिह्न लिने गरी ६ वटा निवेदन परेका छन् । एक्लै चुनाव लड्ने गरी १०५ दलले निवेदन दिएका छन् ।
विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका १४ वटै दलले दल दर्ताका लागि निवेदन दिएका छन् ।
नयाँ र पुराना दल मिलाएर निर्वाचन आयोगमा दर्ता दलहरूको संख्या १४३ पुगेको छ । आयोगमा दर्ता भएका दलहरूले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन छुट्टै दल दर्ता गर्नुपर्ने प्रावधान छ । पुराना २४ दलले भने आगामी निर्वाचन प्रयोजनका लागि आयोगमा निवेदन दिएका छैनन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (सामापाङ) ले ‘श्रम संस्कृति’ नामक पार्टी आयोगमा दर्ता गराएका छन् ।
त्यसैगरी व्यवसायी वीरेन्द्रबहादुर बस्नेत नेतृत्वसमेत रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता भएको छ भने रेशम चौधरीको अगुवाइमा ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ पनि आयोगमा दर्ता भएको छ ।
वर्तमान ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा ‘उज्यालो नेपाल पार्टी’ दर्ता भएको छ । यस पार्टीका अध्यक्ष अरुणकुमार उपाध्याय छन् ।
अध्यक्ष राजेश पोर्तेको नेतृत्वमा ‘राष्ट्रिय परिवर्तन पार्टी’ दर्ता भएको छ । रियाज अहमद शेषले ‘राष्ट्रिय जनमत पार्टी’ दर्ता गराएका छन् ।
त्यसैगरी अधिवक्ता रमणकुमार कर्णको संयोजकत्वमा ‘जनादेश पार्टी, नेपाल’ दर्ता भएको छ भने दलित अभियन्ता खगेन्द्र सुनारले ‘हाम्रो पार्टी नेपाल’ दर्ता गराएका छन् । उनकाे पार्टी भने दर्ता प्रक्रियामै रहेको आयोगले जनाएको छ ।
पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालको अगुवाइमा ‘समुन्नत नेपाल पार्टी’ दर्ता भएको छ ।
गणेशकुमार मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ र योगेन्द्र मण्डलको अगुवाइमा ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ दर्ता भएका छन् ।
त्यसैगरी श्रेया केसीको अध्यक्षतामा ‘नागरिक सेवा पार्टी’ दर्ता भएको छ भने नुमा लिम्बूले ‘समावेशी समाजवादी पार्टी’ दर्ता गराएकी छन् ।
विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अगुवाइमा ‘नागरिक बचाउ दल’ दर्ता भएको छ । यस पार्टीका अध्यक्ष माधवप्रसाद खतिवडा छन् ।
त्यसैगरी दीपककुमार साहको अगुवाइमा ‘सर्वोदय पार्टी’ दर्ता भएको छ भने प्रकाश खड्काको नेतृत्वमा ‘नेपाल जनसेवा पार्टी’ पनि आयोगमा दर्ता भएको छ ।