© २०२३
गुल्मी, १५ मंसिर।
गुल्मीको छत्रकोट गाउँपालिकाले पालिका भित्रका बाँझो कृषि योग्य जमिनलाई उत्पादनमा ल्याउने भएको छ ।
पालिकाले गाउँपालिका भित्रका कृषि योग्य बाँझो जग्गा सदुपयोग गर्ने उद्देश्यले कृषि विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आव्हान गरेको छ ।
पालिकाले आर्थिक वर्ष २०८२/८३ को सङ्घीय सशर्त कार्यक्रम अन्तर्गत बाँझो जमिन कृषि प्रयोजनका लागि भाडामा दिन चाहने जग्गाधनी र लिन चाहने कृषकहरूबाट निवेदन माग गरेको हो ।
भाडामा दिन चाहने इच्छुक जग्गाधनी तथा खेती गर्न चाहने कृषकहरू मार्फत २१ दिन भित्र आवेदन माग गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताएका छन् ।
स्थानीयहरूलाई व्यावसायिक रूपमा कृषि पेसाबाट संवृद्धिको बाटो पहिल्याउँदै गाउँमै रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम अघि बढाउन थालिएको पालिकाले जनाएको छ ।
त्यसका लागि इच्छुक कृषकहरूले जग्गाधनी तथा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बाँझो जग्गा भाडामा दिन वा लिन चाहेको निवेदन तथा प्रतिबद्धता पत्रका साथै भाडामा लिन चाहने कृषकका लागि प्रस्तावना र सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य गरेको छ ।
वर्षौँदेखि बाँझो रहेको जग्गालाई व्यवस्थित रूपमा खेतीयोग्य बनाइ कृषि उत्पादकत्व वृद्धि गर्ने छत्रकोट गाउँपालिकाको मुख्य उद्देश्य रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामसुन्दर पोखरेलले बताए ।
त्यसैगरी गाउँपालिकाले उखु खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत उखु कृषकहरूका लागि पनि ५० प्रतिशत अनुदानमा उखुको बीउ वितरण गर्ने भएको छ ।
पालिकाले नेपाल जलवायु नमुना कार्यक्रम अन्तर्गत सञ्चालन हुने उक्त योजनामा सहभागी हुन इच्छुक कृषक, कृषक समूह तथा कृषि सहकारी संस्थाहरूलाई १५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा आवेदन दिनुपर्ने बताएको छ ।
उखु खेती कार्यक्रमका लागि नागरिकता, लालपुर्जाको प्रतिलिपि, कृषि फर्म वा कृषक समूह/सहकारीको दर्ता तथा नवीकरण प्रमाणपत्र, निर्णय प्रतिलिपि र वडा कार्यालयको सिफारिस पत्र आवश्यक पर्ने बताइएको छ ।
यी दुवै कार्यक्रमले कृषकहरूको आम्दानीमा वृद्धि, बाँझो जमिनको सदुपयोग र कृषि क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने पालिकाले अपेक्षा गरेको छ ।