© २०२३
काठमाडौं ।
नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा (भदौ २४ गते) जलाइएको केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टी भित्रैबाट करिब २५ करोड रुपैयाँ संकलन गर्ने भएको छ ।
पार्टीका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा सानेपामा स्थापित यो भवनको ७५ प्रतिशतभन्दा बढी भाग कामै नलाग्ने गरी जलेको छ ।
भवनलाई पुरानै अवस्थामा ल्याउन र पार्टीका सम्पूर्ण प्रशासनिक काम सञ्चालन गर्न कांग्रेसले त्यसको पुनर्निर्माण गर्ने निर्णय गरेको छ । भवन पुनर्निर्माणका लागि जनप्रतिनिधिदेखि क्रियाशील सदस्यसम्मबाट रकम उठाइने छ ।
कांग्रेसले तल्ला तहका तहगत कार्यसमितिबाट करिब १९ करोड रूपैयाँ रकम संकलन गर्ने निर्णय गरेको छ ।
यस्तै‚ २०७९ को निर्वाचनमा पार्टीको टिकट र चुनाव चिह्नबाट निर्वाचन लडेर जनप्रतिनिधि बनेकाहरूबाट समेत कांग्रेसले ६ करोडभन्दा बढी रकम संकलन गर्ने तयारी गरेको छ ।
रकम संकलन गर्ने प्रयोजन खुलाएर पार्टीले तल्ला तहका कार्य समितिहरूलाई परिपत्र गरिसकेको छ ।
उक्त परिपत्रमा प्रदेश कार्यसमितिदेखि क्रियाशील सदस्यसम्मलाई रकमको आकार तोकिएको छ । १९ कात्तिक २०८२ मा कोषाध्यक्ष उमेश श्रेष्ठ र पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेर तल्ला तहलाई परिपत्र पठाएका हुन् । पार्टीले क्रियाशील सदस्यदेखि शुरू गरेर प्रदेश अधिवेशन प्रतिनिधि महाधिवेशन प्रतिनिधि वडा कार्यसमितिबाट रकम अनिवार्य पठाउन भनेको छ । गाउँ/नगरपालिका समिति‚ उपमहानगर समितिबाट पनि रकम केन्द्रमा पठाउन परिपत्र गरिएको छ । यस्तै, प्रतिनिधि र प्रदेश सभा क्षेत्रीय कार्यसमिति‚ जिल्ला कार्यसमिति र प्रदेश कार्यसमितिबाट रकम पठाउन परिपत्रमार्फत निर्देशन पठाइएको छ ।
यसबाहेक स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू सबैलाई एक महिनाको तलब अनिवार्य पठाउन परिपत्रमार्फत निर्देशन दिइएको छ । ‘यस चुनौतीपूर्ण र कठिन परिस्थितिमा नेपाली कांग्रेसको भवन पुनर्निर्माण गर्ने संकल्प हामीले लिएका छौं । यो महत्त्वपूर्ण कार्यमा सबैको अपनत्व, सहकार्य र आर्थिक सहयोग अपरिहार्य छ । त्यसैले, नेपाली कांग्रेस केन्द्रीय कार्यालय र सम्बन्धित संरचनाहरूको पुनर्निर्माणका लागि आवश्यक वित्तीय स्रोत संकलन अभियान शुरू गरिएको छ‚’ परिपत्रमा लेखिएको छ‚ ‘तपाईंहरूको आत्मीय सहभागिता, सहयोग र ऐक्यबद्धताबाट नेपाली कांग्रेसको केन्द्रीय कार्यालय चाँडै पुनर्निर्मित हुनेछ र हाम्रो साझा संकल्पलाई मूर्त रूप दिनेछ ।’
कुन तहबाट कति उठाइँदैछ पैसा?
परिपत्रमा जनाइएअनुसार भवन पुनर्निर्माणका लागि प्रदेश कार्यसमितिबाट पाँच लाखका दरले रकम उठाउने तयारी भएको छ । सात प्रदेशबाट ३५ लाख पार्टीले उठाउने छ ।
यस्तै, एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाबाट ३० हजारका दरले पार्टीले पैसा केन्द्रमा पठाउनु भनेको छ । यस हिसाबमा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला कार्यसमितिबाट कांग्रेसले १० लाख ५० हजार रकम उठाउनेछ ।
परिपत्र अनुसार पार्टीले दुईभन्दा माथि चारसम्म निर्वाचन क्षेत्र भएको जिल्ला कार्यसमितिबाट ५० हजारका दरले रकम उठाउन लागेको छ । यी जिल्ला कार्यसमितिबाट पार्टीले कम्तीमा १८ लाख ५० हजार रूपैयाँ रकम उठाउने छ ।
चारभन्दा बढी निर्वाचन क्षेत्र भएका ५ जिल्ला कार्यसमितिबाट ७५ हजारका दरले पार्टीले ३ लाख ७५ हजार रूपैयाँ रकम उठाउने निर्णय कांग्रेसले गरेको छ ।
भवन पुनर्निर्माणका लागि पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३० हजारका दरले रकम उठाउने भएको छ ।
१६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उसले ४९ लाख ५० हजार रूपैयाँ संकलन गर्ने तयारी गरेको छ । यस्तै, प्रदेश सभा क्षेत्रीय कार्यसमितिबाट २० हजारका दरले ६६ लाख रकम उठाउने तयारी कांग्रेसको छ ।
यसबाहेक पार्टीले ६ वटा महानगरपालिका कार्यसमितिबाट २० हजारका दरले १ लाख २० हजार तथा ११ उपमहानगरपालिकाबाट १५ हजारका दरले १ लाख ६५ हजार रूपैयाँ संकलन गर्नेछ ।
पार्टीले २७६ नगरपालिकाबट १० हजारका दरले २७ लाख ६० हजार‚ ४६० गाउँ कार्यपालिका समितिबाट पाँच हजारका दरले २३ लाख रकम कांग्रेसले संकलन गर्नेछ ।
कोषाध्यक्ष र मुख्य सचिवले पठाएको परिपत्र अनुसार ६ हजार ७४३ वडा कार्यसमितिबाट दुई हजारका दरले एक करोड ३४ लाख ८६ हजार संकलन गरिने छ ।
यस्तै, महाधिवेशन प्रतिनिधिहरूबाट प्रतिव्यक्ति तीन हजारका दरले रकम संकलन गर्ने परिपत्रमा उल्लेख छ । पार्टीको १४ औं महाधिवेशनको अन्तिम सूचीअनुसार ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए ।
यही संख्यालाई आधार मान्दा १ करोड ४२ लाख २९ हजार रुपैयाँ पार्टी भवन पुनर्निर्माणका लागि संकलन हुने छ ।
यस्तै, पार्टीले ५ हजार २८० प्रदेश महाधिवेशन प्रतिनिधिहरूबाट एक हजारका दरले ५२ लाख ८० हजारभन्दा बढी रकम संकलन गर्दै छ ।
पार्टीले क्रियाशील सदस्यबाट १५० रूपैयाँको दरले १३ करोडभन्दा बढी रकम संकलन गर्ने छ । १६ असार २०८२ मा बसेको पार्टी केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यहरूको संख्या सार्वजनिक गर्दै हाल पार्टीमा ८ लाख ७० हजार ७८० क्रियाशील सदस्य कायम रहेको जानकारी गराएका थिए । यही संख्याबाट हिसाब गर्दा पार्टीले कार्यालय पुनर्निर्माणका लागि १३ करोड ६ लाख १७ हजार रूपैयाँ उठाउने निर्णय गरेको हो ।
यसबाहेक पार्टीले स्थानीय तहमा पार्टीमा विजयी भएका जनप्रतिनिधिहरूबाट पैसा उठाउने छ । २०७९ मा भएको निर्वाचनमा कांग्रेसबाट महानगर/उपमहानगर तथा नगरपालिकातर्फ १४० प्रमुख तथा ११० उपप्रमुख विजयी भएका छन् । यस्तै, १८८ गाउँपालिका अध्यक्ष तथा १९० उपाध्यक्ष निर्वाचित भएका छन् ।
यसैगरी, २ हजार ६६१ वडामा पार्टीबाट अध्यक्ष निर्वाचित भएका छन् । यी सबै जनप्रतिनिधिबाट एक महिनाको तलब पार्टीले भवन पुनर्निर्माण भन्दै उठाउने भएको छ ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूबाट कांग्रेसले ५ करोडभन्दा बढी रकम संकलन गर्ने तयारी गरेको छ । सबै स्थानीय तहमा जनप्रतिनिधिहरूले पाउने तलब सुविधा एकनासको छैन ।
औसतमा नगरपालिका प्रमुखले ४० हजार‚ उपप्रमुखले ३५ हजार‚ गाउँपालिका अध्यक्षले ३० हजार तथा उपाध्यक्षले २५ हजार र वडाध्यक्षहरूले १२ हजारको दरले हिसाब गर्ने हो भने सबै जनप्रतिनिधिहरूबाट एक महिनाको तलब बराबर ६ करोडभन्दा बढी रकम जम्मा हुने देखिन्छ ।