© २०२३
काठमान्डौ, १५ मंसिर ।
जेनजी आन्दोलनको क्रममा हतियार र कार्यालयको सुरक्षा गर्न नसकेको भन्दै सशस्त्र प्रहरी बलका नयाँ बानेश्वरस्थित सुरक्षा बेसका तत्कालीन डीएसपी गौतम कुँवरलाई कारबाहीका लागि सिफारिस गरिएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले गठन गरेको आन्तरिक छानबिन समितिको रिपोर्टका आधारमा विभागीय कारबाहीका लागि सिफारिस गरिएको हो । सशस्त्र हेडक्वाटर स्रोतले यस सिफारिसको पुष्टि गरेका छन् ।
स्रोतका अनुसार, “आफू मातहतको हातहतियार र कार्यालयको सुरक्षा गर्न नसकेको देखिएपछि विभागीय कारबाहीका लागि सिफारिस गरिएको हो ।”
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका बेला कुँवर बानेश्वर सुरक्षा बेस इन्चार्ज थिए । उनका कार्यालयमा रहेको १४ थान एसएलआर हतियार प्रदर्शनकारीले जलाएको आरोप छ ।
अन्यत्र भने सशस्त्र बलको कुनै क्षति नभएकाले अन्य कमान्डरहरू कारबाही सिफारिसमा परेका छैनन् ।
हाल कुँवरलाई सशस्त्र प्रहरी नियमावलीअनुसार कारबाही गरिने भए पनि, कस्तो प्रकारको कारबाही हुने भन्ने विवरण सार्वजनिक गरिएको छैन ।