Butwal Today

बुद्धभूमिमा सामुदायिक दूरदृष्टि कार्यक्रम सम्पन्न

१५ मंसिर २०८२, सोमबार
अ+
अ-

बुद्धभूमि ।

दिगो शान्ति, विकास र समृद्धिको साझा परिकल्पनालाई अघि बढाउने उद्देश्यसहित बुद्धभूमि–२ मा आयोजित सामुदायिक दूरदृष्टि कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नगर युवा परिषद्, उद्योग वाणिज्य संघ, मेलमिलापकर्ता, संवाद सहजकर्ता तथा विभिन्न क्षेत्रका सरोकारवालासहित ५२ जना सहभागी भए।

कार्यक्रमको प्रारम्भिक सत्रपछि सहभागीहरू विभिन्न समूहमा विभाजन गरिएर समुदायका सामाजिक समस्या, विकास आवश्यकता, स्थानीय स्रोत–साधन, अवसर तथा चुनौतीबारे विस्तृत छलफल भयो। सोही समूहगत विचार–विमर्शबाट आगामी वर्षका प्राथमिकताहरू पहिचान गर्दै पाँच वर्षे सामुदायिक दूरदृष्टि योजना तयार गरिएको हो।

बुद्धभूमि नगरपालिकाका सबै १० वडाका प्रतिनिधिहरू सहभागी रहेको कार्यक्रममा सामुदायिक समस्या, विकासका आवश्यकता, स्थानीय क्षमता, अवसर–चुनौती तथा नगरको भविष्यका साझा प्राथमिकताहरू पहिचान गरियो। सहभागीहरूका अनुसार यस प्रक्रियाले नगरको वास्तविक अवस्था बुझ्न, समाधान खोज्न तथा दिगो विकासका लागि सामूहिक दृष्टिकोण विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

तयार गरिएको सामुदायिक दूरदृष्टि योजना बुद्धभूमि नगरपालिकालाई हस्तान्तरण गर्दै सहभागीहरूले नगरका आगामी वार्षिक योजनामा नागरिकका वास्तविक आवश्यकताहरू समाहित हुने विश्वास व्यक्त गरे।

नागरिक शान्ति सेवा कार्यक्रमअन्तर्गत निरन्तर सञ्चालन भइरहेका गतिविधिको निरन्तरतामा आयोजित कार्यक्रमलाई प्रो पब्लिकका कार्यकारी निर्देशक बाबुराम पौडेल र कार्यक्रम संयोजक झबिन्द्र अधिकारीले संयुक्त रूपमा सहजीकरण गरे। सहभागीहरूको नेतृत्वमा समस्या पहिचान, समाधान प्रस्ताव तथा सहभागितामूलक योजना प्रक्रियाले स्थानीय तहमा शान्ति, सुशासन र पारदर्शिता अझ मजबुत हुने अपेक्षा व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो।