© २०२३
बुटवल, १३ मंसिर ।
रुपन्देहीका औषधी ब्यवसायीहरुले आइतबार दुई घण्टा पसल बन्द गरेर बिरोध प्रदर्शन गरेका छन । औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ खारेजीको माग राख्दै बिरोधमा रहेका ब्यवसायीहरुले चरणबद्ध आन्दोलन अन्तरगत ९ बजेदेखि ११ बजेसम्म पसल बन्द गरेका हुन् ।
आन्दोलनमा नेपाल औषधी ब्यवसायी संघ, नेपाल पशुपंक्षी औषधी ब्यवसायी संघ र नेपाल आयुर्वेद औषधी ब्यवसायी संघसहितको संघर्ष समितिले आफना पसलहरु बन्द गरेका हुन् ।
संशोधित ऐनका केही प्रावधानहरू व्यावहारिक नभएको र व्यवसायीहरूको अस्तित्वमा खतरा पु¥याउने भएको भन्दै व्यवसायीहरूले तत्काल खारेजीको माग गरेका छन् ।
संशोधन अनुसार, औषधी पसलको दर्ता नवीकरणको म्याद सकिएको भोलिपल्टदेखि शतप्रतिशत जरिवाना लाग्ने र ३१ औँ दिनसम्म पनि नवीकरण नगरेको खण्डमा स्वतः संस्था खारेज हुने प्रावधान राखिएको छ । यसका कारण व्यवसायीहरूको लागि कठिनाइ उत्पन्न भएको र पेसागत सुरक्षा संकटमा परेको नेपाल औषधी ब्यवसायी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष लुकराज न्यौपानेले बताए ।
देशभरका औषधी व्यवसायीहरु आ–आफ्नो क्षेत्रमा आन्दोलनका कार्यक्रम अनुसारका कार्यक्रम गरिरहेका छन । संशोधित दफा ११ को उपदफामा संविधानको मर्म विपरीत र व्यवसायीहरूलाई त्रसित बनाउनका लागि बनाइएको प्रावधान भएको नेपाल औषधी ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष खड्ग बस्तेतले बताए ।
११ मङ्सिरदेखि १६ मङ्सिरसम्म विरोधका विभिन्न कार्यक्रमहरू तय गरिएको छ । व्यवसायीहरूको विरोध कार्यक्रम मङ्सिर १६ गतेसम्म चल्नेछ र यदि सरकारले प्रतिक्रिया नदिएमा १७ मङ्सिरदेखि अनिश्चितकालीन बन्द र हडतालका कार्यक्रम थाल्ने चेतावनी दिइएको छ ।