© 2026
काठमान्डौ, १४ मंसिर ।
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले प्रदान गरेको थपिएको दल दर्ता समय आज सकिँदैछ । आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार मङ्सिर १ गतेदेखि १० गतेसम्म दल दर्ता अवधि तोकिएको थियो । तर धेरै दल दर्ता प्रक्रियामा रहेकाले आयोगले चार दिन थप गरेर आजसम्मका लागि समय विस्तार गरेको हो ।
आयोगका अनुसार गत शुक्रबारसम्म १०८ राजनीतिक दल निर्वाचन प्रयोजनका लागि आधिकारिक रूपमा दर्ता भइसकेका छन् । आजसम्म दर्ता प्रक्रिया पूरा गर्ने दलहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन पाउनेछन् ।
२०७९ मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावको तुलनामा यसपटक प्रतिस्पर्धामा सहभागी हुन इच्छुक दलको संख्या उल्लेख्य रूपमा बढेको छ । अघिल्लो चुनावमा ८४ दलले प्रतिस्पर्धा गरेका थिए भने यसपटक दर्ता भइसकेका दलहरूको संख्या पहिले नै १०८ पुगेको छ । दर्ताको अन्तिम दिन भएकाले यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
यसबीच, जेनजी आन्दोलनपछि मात्र गठन भएका २३ नयाँ राजनीतिक दलले आयोगबाट आधिकारिकता प्राप्त गरिसकेका छन् भने थप १६ दल दर्ता प्रक्रियामा रहेका छन् ।
हालै दर्ता भएका दलहरूमा माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्काको नेपाल जनसेवा पार्टी छन् । त्यस्तै, सबिन सिग्देलको प्रगतिशील नागरिक पार्टी, दिपककुमार साहको सर्वोदय पार्टी, सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी पनि दर्ता भएका छन् ।
रमनकुमार श्रेष्ठको जनादेश पार्टी नेपाल, गणेशकुमार मण्डलको सार्वभौम नागरिक पार्टी, श्रृया केसीको नागरिक सेवा पार्टी, अनुपकुमार उपाध्यायको उज्यालो नेपाल पार्टी, योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी र प्रशान्त सिंहको पिपुल फर्स्ट समेत दर्ता सूचीमा छन् ।
यसअघि हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी, दिनेशराज प्रसाईंको गतिशील लोकतान्त्रिक पार्टी, र कबिर सोपको नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता भएका थिए ।
त्यसैगरी प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी, राजेश प्रतेलको राष्ट्रिय परिवर्तन पार्टी, रियाज अहमद शेषको राष्ट्रिय जनमत पार्टी तथा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल पनि दर्ता भइसकेका छन् ।
अकबर खानको राष्ट्र निर्माण दल नेपाल, सत्यवान कुमार सिंहको स्वाभिमान पार्टी, खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल, रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वोच्चता पार्टी नेपाल पनि दर्ता सूचीमा समावेश छन् ।
यता दर्ता प्रक्रियामा रहेका दलहरूमा गोपीलाल न्यौपानेको नेपाल लिभरल पार्टी, हिमालयबहादुर चन्दको नेपाल राष्ट्रिय युवा पार्टी, चन्द्रप्रकाश सुवेदीको सुन्दर नेपाल निर्माण पार्टी, राजकुमार कक्षपतिको नेकपा ९वामपन्थी केन्द्र०, सुन्दरराम बोहराको आवाज पार्टी, प्रशान्त आचार्यको नेपाली प्रथम पार्टी लगायतका दल छन् ।
त्यसैगरी अशोककुमार यादवको जनता लोकतान्त्रिक पार्टी नेपाल, सन्दीप उप्रेतीको राष्ट्रिय स्वाभिमान पार्टी नेपाल, नुमा लिम्बूको समावेशी समाजवादी पार्टी, टीकाराम पुरीको राष्ट्रिय गौरव पार्टी, जीवन लिम्बूको एकता नेपाल, किशोरी कार्कीको नवनिर्माण, लक्ष्मीप्रसाद खतिवडाको राष्ट्रिय सनातन पार्टी नेपाल, शरदसिंह यादवको जनअधिकार पार्टी, काजल अधिकारीको न्यू न्यास्नलिस्ट पार्टी तथा शम्भु पोखरेलको उदार लोकतान्त्रिक पार्टी पनि दर्ता प्रक्रियामा रहेका छन् ।