दाङ, १४ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्र विक्रम चन्द `विप्लव´ले सिद्धान्त, विचार र नीति छोडेर पार्टी एकता नहुने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी दाङले आइतबार तुलसीपुरमा आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले माओवादीसँगको एकताको बारेमा स्पष्ट पार्दै माओबादको सिद्धान्त, पार्टीको विचार र नीतिलाई छोडेर पार्टी एकता नहुने बताएका छन् ।
पार्टी एकताबाट भागेको माओवादी केन्द्र हो, नेकपा होइन्, विप्लवले भने, पार्टी एकताका लागि सबैभन्दा पहिले नेकपाले निर्णय गरेको र माओवादीसँग पार्टी एकता गर्ने र कम्युनिस्टहरुसँग मोर्चा बनाएर अगाडि बढ्ने लगायतका निर्णय पार्टीको बैठकबाटै लिएको । पार्टी एकताको काम अझै नसिद्दिएको र बताएका छन् ।
माओवादी हरुले सिद्धान्त र विगतका गल्ती सच्याएर आएमा भोलिका दिनमा पनि एकता हुनसक्ने उनको भनाइ थियो । उनले सबैलाई समेटेर अगाडि बढ्ने पार्टीको दृष्टिकोण भएको र पार्टीलाई एकतावद्द गरेर अगाडि बढ्नका लागि गलतलाई सच्याएर आए फेरि एकता असम्भव नहुने धारणा राखेका थिए ।
नेता विप्लवले पार्टीले नयाँ कम्युनिस्ट केन्द्र निर्माण गर्ने र नयाँ विचार लिएर अगाडि बढ्ने बताउनुभयो । बाह्य शक्तिहरूले कम्युनिस्ट आन्दोलनको नामलाई मेटाउन खोजेको र त्यसको रक्षाको लागि कम्युनिस्ट आन्दोलनको बलियो ढोका खोलेर अगाडि बड्नुपर्ने उनको जोड थियो । पार्टीप्रति देशबहर जनताको आकर्षण बढ्दै गएको हुँदा नेताकार्यकर्ताहरुले पार्टीको अनुशासनमा रहेर काम गर्नुपर्ने र अझै जनतालाई पार्टीप्रति विश्वासिलो बनाउनुपर्ने उनले बताए । जनयुद्ध भनेको माओवाद र माओवादीसँग जोडिएको भएको हुँदा पार्टीले नेकपा पछाडी माओवादी जोडेको समेत उनले बताएका छन् ।
सरकारले तोकेकै समयमा निर्वाचन हुने कुरा असम्भव भएको भएपनि निर्वाचनका लागि पार्टी चुनावमा भिड्ने र त्यसका लागि निर्वाचन आयोगमा दल दर्ता गरेर पार्टीले गुलावको फूलको चन्ह लिएको बताए । पार्टीले आफ्नै बलबुताले आगामी निर्वाचन भाग लिने र त्यसका लागि पार्टीका नेताकार्यकर्ताहरु ढुक्क भएर जनताकोबीचमा जानुपर्ने उनले बताए । देशभर राम्रा उम्मेदवारहरुलाई लिएर पार्टी चुनावमा लड्ने र संघर्ष गरेर अगाडि बढ्ने तर, आवश्यक परे चुनावी मोर्चा बनाएर भएपनि निर्वाचनमा भाग लिने उनको भनाइ छ ।
साथै, उनले जेनजीको नाममा बनेको सुशीला कार्कीको अन्तरिक सरकारलाई हटाएर सर्वपक्षीय सरकार बनाउनुपर्ने र त्यो राजनीतिकसहित सरकार हुनुपर्ने बताए ।
राजनीतिसहितको सरकारले सबैभन्दा पहिले संविधानको पुनर्लेखन गर्नुपर्ने र त्यसमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री हुनेगरी संविधानको पुनर्लेखन हुनुपर्ने उनले बताए ।
त्यस्तै पार्टीका पोलिटब्यू शीतल सीले देश आज भिन्नै प्रवृत्ति उभिरहेको कुरामा जेनजी बिद्रोहले नेपालको दलाल व्यवस्थाको जरा हल्लाइदिएको बताए । जेनजी बिद्रोह आफ्नो पक्ष नभएपनि क्रान्तिको ढोका खोलिएको उनको धारणा थियो ।
जेनजी बिद्रोहबाट नेपालमा लामो समयदेखि शासन गर्दै आएका तीन ठूला पार्टीलाई धुलो चटाइदिएको समेत उनको जोड रहेको थियो । चुनाव भनेको पार्टीको एउटा संघर्षको मोर्चा भएको र पार्टीको आवश्यकता अनुसार विभिन्न मोर्चाहरुको माध्यमबाट पार्टीलाई अगाडि बढाउने उनको भनाइ थियो ।
प्रशिक्षण दिन दाङ आएका महासचिव विप्लवलाई जिल्ला पार्टीका नेताकार्यकर्ताहरुले गुलावको फूल दिएर भब्य रुपमा स्वागत गरेका थिए ।