© 2026
काठमाडौं, १४ मंसिर ।
नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता जागरुक नभए देशमा पुन: ठूलो संकट उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् । आइतबार पोखरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनका अनुसार, देशमा जनता संगठित र सचेत नभए ठूलो संकट आउनसक्ने सम्भावना रहेको छ । उनले भने, “यदि जनता जागरुक भएनन्, राष्ट्रियताको भावना बलियो बनाएनन् भने देशमा फेरि संकट आउनसक्छ ।”
साथै प्रचण्डले मुलुक अहिले गम्भीर राष्ट्रिय संकटमा रहेको उल्लेख गर्दै त्यसबाट मुक्त गरिनुपर्ने बताए । देशको राष्ट्रिय स्वाधिनता र सुरक्षा कमजोर हुँदै गएको हुँदा सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिस्ट शक्तिहरू एक जुट हुनु अत्यावश्यक भएको उनको भनाइ छ ।
प्रचण्डले एमाले र कांग्रेसका ‘दुई तिहाइ’का कारण जनताले के हासिल गर्न सके भन्ने प्रश्न उठाउँदै, कांग्रेस र एमालेकै कारण राष्ट्र संकटमा परेको टिप्पणी पनि गरेका छन् । उनले भने, “हामीले राष्ट्र झण्डै धरापमा पुगेको देख्यौं ।
सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौं, तर सरकारबाट हटाइयो। भ्रष्टाचारविरुद्ध लड्ने अवसर पनि दिइएन। हामीलाई भ्रष्टाचार र राष्ट्रिय स्वाधिनताका लागि लड्न शक्ति पुगेन ।”
उनले सुरु गरिएको ‘एकता अभियान’ केवल चुनाव जित्ने उद्देश्यका लागि नभई राष्ट्रको रक्षा, स्वाधिनता संरक्षण र समृद्धिको आधार निर्माणका लागि भएको स्पष्ट पारे । प्रचण्डले भने, “चुनाव त हामी जित्छौँ, जित्छौं। तर राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता अनिवार्य छ ।”