© २०२३
लमही, १४ मङ्सिर ।
नेपाली कम्युनिष्ट पार्टीको लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभा शनिबार दाङको लमही देउखुरीमा भएको छ । सभालाई पार्टी संयोजक प्रचण्डसहित शीर्ष नेताहरू माधवकुमार नेपाल, बामदेव गौतम, भीम रावल र वर्षमान पुनले सम्बोधन गरेका थिए ।
पार्टी संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले देश गम्भीर राजनीतिक मोडमा पुगेको बताउँदै वामपन्थी र देशभक्त शक्तिहरूबिच ठुलो एकता आवश्यक भएको उल्लेख गरे ।
उनले आगामी चुनावलाई नै देशलाई निकास दिने मुख्य मार्गका रूपमा चित्रित गर्दै सबैलाई गम्भीरतापूर्वक चुनावी तयारीमा जुट्न आग्रह गरे ।
प्रचण्डका अनुसार अहिले देखिएको एकता चुनाव जित्नका लागि मात्र होइन, विगतका कमजोरी सुधार्दै जनताको भरोसा पुनः स्थापित गर्ने प्रयास पनि हो ।
दुई तिहाइ बहुमतको सरकार समेत टिक्न नसकेको उदाहरण दिँदै उनले जनताको मन जित्न नसके प्राप्त शक्तिको कुनै अर्थ नहुने बताए । उनका शब्दमा, “दुई तिहाइको सरकार पनि जनतासँगै नहुँदा काम लागेन। जनताले नमानिदिएर शक्ति टिक्दैन ।”
विगतमा विभिन्न कारणले उत्पन्न विवाद र गल्तीहरूलाई आत्मालोचनासहित सुधार गर्दै अघि बढ्नुपर्ने धारणा प्रचण्डले राखे। उनले ढिलो–चाँडो सबै कम्युनिष्ट शक्तिहरू एकै ठाउँमा आउने विश्वास प्रकट गर्दै जनता र विभिन्न क्षेत्रबाट आफूहरूलाई मिलेको समर्थनले पार्टीको एकता प्रक्रिया सुदृढ बन्दै गएको बताए ।
सभामा सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई उत्पादन र जनजीविकाका वास्तविक समस्यासँग जोडेर लैजाने प्रक्रिया सुरु भएको जानकारी दिए।
उनका अनुसार पार्टी अब जनताको जीवनयापनमा प्रत्यक्ष प्रभाव पार्ने विषयहरूमा केन्द्रित हुँदै रूपान्तरणको दिशामा अघि बढ्दै छ ।
यसै गरी, पूर्व गृहमन्त्री बामदेव गौतमले सबै राजनीतिक दलले विगतका कमजोरीबाट पाठ सिकेर जिम्मेवार रूपमा अघि बढ्नुपर्ने धारणा राखे। पूर्व गृहमन्त्री भीम रावलले नेपालको राष्ट्रियता संरक्षणलाई पार्टीले मुख्य एजेन्डा बनाउने बताए ।
पूर्व अर्थमन्त्री वर्षमान पुनले लुम्बिनी प्रदेशमा आयोजित यो सन्देश सभाले पार्टीको आज र हिजोको उपस्थितिको तुलना गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।