© २०२३
लुम्बिनी, १४ मंसिर ।
लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगितामा एभरेष्ट इङ्लिस बोर्डिङ स्कुल, बुटवल प्रथम भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको २१औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज लुम्बिनीमा भएको विद्यालय तथा कलेज स्तरीय प्रतियोगितामा एभरेष्ट स्कुलका विद्यार्थी साइरस बज्राचार्य प्रथम भएका हुन् ।

प्रतियोगितामा काशी नोबेल एकेडेमी भैरहवाका निशान थापा मगर द्वितीय र शान्ति नमुना माध्यमिक विद्यालय मणिग्रामका सुशान्त अर्याल तृतीय भएका छन् भने काशी नोबेल एकेडेमीका रोनिश केसी चौथो भएका छन् ।
प्रतियोगिताको शुभारम्भ गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायका डिन डा.माणिकरत्न शाक्यले विद्यार्थीहरुको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
उनले समालोचनात्मक र विश्लेषणात्मक क्षमता वृद्धि हुने भएकाले विद्यार्थीका लागि बुद्धिचाल खेल आवश्यक भएको बताए ।
प्रतियोगिताका विजेताहरूलाई आइतबार लुम्बिनी बौद्ध विश्वविद्यालयको २१औँ वार्षिकोत्सव समारोहमा पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको प्रतियोगिताका संयोजक सञ्जय शाक्यले जानकारी दिए । प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न ३५ विद्यालयले सहभागिता जनाएका थिए ।