© २०२३
काठमाडौं ।
श्रीलंकामा आएको समुन्द्री आँधीपछि बाढीपहिरोमा परी १९३ जनाको मृत्यु भएको छ । २०० भन्दा बढी मानिस बेपत्ता छन् भने २० हजारभन्दा बढी घर क्षतिग्रस्त भएको बताइएको छ । यो जानकारी त्यहाँको विपद् व्यवस्थापन केन्द्रलाई उद्धृत गर्दै बीबीसीले दिएको छ ।
श्रीलंका अहिले खराब मौसमी प्रकोपसँग जुधिरहेको छ । करिब १ लाख ८ हजार मानिसलाई अस्थायी शिविरमा राखिएको छ । “दित्वाह” नामको समुन्द्री आँधीपछि श्रीलंकामा आपतकाल घोषणा गरिएको छ ।
देशको करिब एक तिहाइ भागमा बिजुली र खानेपानी आपूर्ति ठप्प भएको छ । केलानी नदीको पानी स्तर द्रुत गतिमा बढ्दै जाँदा त्यस क्षेत्रका मानिसलाई अन्यत्र सार्न सरकारले निर्देशन दिएको छ । मृत्यु हुनेमध्ये क्यान्डी र बदुल्ला क्षेत्रमा धेरै छन् । अनुराधापुरामा पानीमा डुबेको बसबाट ६९ जनालाई उद्धार गरिएको छ ।
श्रीलंकाली सरकारले अन्तर्राष्ट्रिय सहायताको लागि आग्रह गरेको छ । प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्न विदेशमा रहेका श्रीलंकालीहरूलाई पनि आह्वान गरिएको छ ।