© २०२३
पाल्पा, १४ मङ्सिर ।
रैनादेवी छहरा गाउँपालिका अन्तर्गतको सिरूपानी सामुदायिक वनको व्यवस्थापनका लागि समूहबाट आर्थिक सङ्कलन गर्न नपर्दा स्थानीयहरू अचेल निकै खुसी भएका छन् ।
वनका लागि विभिन्न गतिविधि सञ्चालनका लागि आजित भएका स्थानीयहरूले भने वनैबाट आम्दानी लिन लागेका कारण उनीहरू खुसी भएका छन् ।
प्राकृतिक वनका रूपमा आफै उम्रिएको सल्लाको बोटबाट खोटो निकाल्न लागेपछि स्थानीयहरूको समेत आम्दानीको वृद्धि भएको छ । डिभिजन वन कार्यालयको समन्वयमा विगत ३ वर्षदेखि खोटो निकालेर बाहिर निर्यात गर्न लागेपछि स्थानीयले रोजगारीको अवसर समेत प्राप्त गरेको स्थानीय बल बहादुर नेपाली बताउँछन् ।
खोटो निकाल्न लागेपछि समूह सबैमा वन प्रति अपनत्व समेत बढ्दै गएको उनी बताउँछन् । सल्लाको रुखबाट आउने चोप (खोटो) बिक्री गरेर समूहले आम्दानी गरेको भन्ने कुरा विभिन्न सञ्चार माध्यमबाट देखेको सुनेको बताउने रिब्दीकोट सोमहर सामुदायिक वनका सदस्य तथा उपभोक्ता कमला कार्की बताउँछिन् ।
अरूले बिक्री गरेको भनेर सुन्दा रहर लाग्दथ्यो । अहिले बल्ल थाहा भयो यसको विषयको बारेमा जान्न र सुन्न पाएको उनी बताउँछिन् ।
सुख्खा मौसममा सल्ला आगलागीका कारणले उच्च जोखिम हुन्छ भने पहिला समूहले जब अग्नि रेखा निर्माण निर्माण गर्दा पनि वनमा आगो लागि हुन्थ्यो ।
जब खोटो सङ्कलनका लागि कम्पनीहरू आए उनीहरूले पनि सुख्खा मौसममा डढेलो नियन्त्रणका लागि बलियो सँग अग्नि रेखा निर्माणका लागि ध्यान दिन लागेपछि वनमा डढेलोबाट क्षति कम हुन लागेको स्थानीयहरू बताउँछन् ।
जिल्लाको तानसेन नगर, रम्भा, रैनादेवी छहरा, रिब्दीकोट गाउँपालिकाका सामुदायिक वन मध्ये अधिकांश वन कोणधारी सल्लाले ओगटेको छ । विगत एक दशकदेखि झापाको दुर्गा रोजिना एन्ड टार्पम्न्टाइन प्रा.लिको अनुमति प्राप्त गरेको थियो ।
कम्पनीले प्रचलित कानुन तथा खोटो ऐन नियमावलीलाई पूर्ण रूपमा कार्यान्वयन नगरेको भन्दै स्थानीयले सम्झौता खारेज गरेपछि हाल २ वटा उद्योगले यहाँबाट ३५ वटा सामुदायिक वनबाट खोटो सङ्कलन गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाड्ड बताउँछन् ।
सामुदायिक वनबाट खोटो निकासी हुन लागेपछि समूहको पनि आम्दानीमा वृद्धि भएको छ । त्यसै गरी स्थानीयले वनमा रोजगारीको अवसर पाएको त्यस संगै समूहका सबै सदस्यहरूलाई मेरो वन भन्ने भावनाको विकास भएको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठ बताउँछन् ।
तानसेन नगरको श्रीनगर र त्यस आसपासका वनमा पनि सल्लाले नै ढाकेको छ । यहाँका वनका सल्लाबाट पनि खोटो निकाल्न सकिन्छ । त्यसतर्फ स्थानीय वन उपभोक्ता समिति र स्थानीयको ध्यान केन्द्रित गरिने सूचना अधिकारी तामाड्ड बताउँछन् ।
उनको अनुसार आर्थिक वर्ष ०८०/८१ मा २५ वटा सामुदायिक वनबाट १ लाख ५४ हजार १ सय ९१ किलो र आर्थिक वर्ष ०८१/८२ मा ३५ वटा सामुदायिक वनबाट १ लाख ७० हजार ६ सय ६६ के.जी र आर्थिक वर्ष ०८२/०८३ मा ३५ वटा सामुदायिक वनबाट ९२ हजार ९ सय ४१ किलो खोटो निकासी गरेको थियो ।
तीन वर्षमा जिल्लाबाट ३७ लाख ५८ हजार रुपियाँ बढीको खोटो निकासी भएको छ । समूहले रोजिना कम्पनीलाई प्रति किलो ९ रुपैयाँका दरले बिक्री गर्दै आएको छ । प्रारम्भिक अवस्थामा समूहबाट विभिन्न कम्पनीले प्रति के.जी ३ रुपैयाँका दरले बिक्री गरेको थियो ।
अन्य वनस्पतिको तुलनामा सल्ला पछिल्लो समय कमै मात्रामा प्रयोग हुने वनस्पति भए पनि प्राकृतिक रूपमा रहेको वनमा खोटो आउने सल्ला हो । यहाँ रम्भा गाउँपालिका हुमिनको सामुदायिक वनबाट समेत पहिला खोटो निकाल्ने गरिन्थ्यो ।
पछि कम्पनीले बदमासी गरेको थाहा पाएपछि समूहले रोक लगाएको १० वर्ष भन्दा बढी भएको स्थानीय बताउँछन् । खोटो औद्योगिक कच्चा पदार्थ हो । सरकारले यसको महत्त्व नबुझ्दा यसको राजश्व र मूल्य समेत कम भएको विदहरू बताउँछन् ।
सरकारले खोटो निकाल्ने प्रक्रियालाई वातावरण मैत्री बनाउन कानुन तथा ऐन नियम बनाए पनि समूहमा यस सम्बन्धी पर्याप्त ज्ञान नहुँदा विगतमा झापाको दुर्गा रोजिन एन्ड टार्पेन्टाइन कम्पनीले आफू खुसी काम गर्दा रुख तथा बोट मासिने खतरा बढेपछि स्थानीयले रोक लगाएका थिए ।
सामुदायिक वनबाट खोटो निकालेर बिक्री ग¥यो । समूहको आय आर्जनमा वृद्धि भएका कारण नै सामुदायिक वन उपभोक्ता समितिको पदाधिकारीहरूको क्षमता तथा नेतृत्वको विकास भएको छ । समूहको कोषमा रकम भएपछि तालिम पनि हुँदो रहेछ ।
यही तालिमका कारण आफ्नो क्षमता विकास भएको रिब्दीकोट गाउँपालिका भैरवस्थान मन्छिप सामुदायिक वन उपभोक्ता समितीकी सदस्य सिता कार्की बताउँछिन् ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी खिल बहादुर तामाड्डका अनुसार खोटो निकाल्ने कार्यलाई मर्यादित बनाउन सरकारले २०६३सालमा निर्देशिका जारी गरेको छ ।
जारी निर्देशिका अनुसार खोटो निकाल्ने रुखको न्यूनतम गोलाइ ३० सेन्टिमिटर हुनु पर्दछ र जमिनको सतहदेखि १ मिटर ३० सेन्टिमिटरबाट मात्र रुखमा घाउ बनाएर निकाल्नु पर्ने खोटो निकालेपछि घाउमा गोवर माटोले लेपन गर्नुपर्ने हुन्छ ।
यो वर्ष निकालेको ठाउँ भन्दा विपरीत दिशा बाट अर्को वर्ष निकाल्नु पर्ने कानुनी प्रावधान रहेको छ । विगत ३ वर्ष यता खोटो निकाल्ने सामुदायिक वनमा डिभिजन, सब डिभिजन वन बाट प्राविधिकहरूले नियमित रूपमा अनुगमन गरेका कारण निर्देशिकालाई पूर्ण रूपमा पालन भएको सूचना अधिकारी तामाड्ड बताउँछन् ।
सूचना र प्रविधिको बिकासका कारण उपभोक्ता समेत सचेत र सजग भएका कारण पहिला जस्तो कम्पनीबाट ठगिन नपर्ने भयो त्यसै खेरा जाने खोटो अब आम्दानीको बाटो बन्यो । तर यसका मूल्य अत्यन्तै कम भयो ।
यसलाई नेपाल सरकारले जडीबुटीमा परिभाषित गरिएको छ । यो तार्पिन तेलको मुख्य कच्चा पदार्थ हो । यसलाई औद्योगिक कच्चा पदार्थको रूपमा परिरभाषित गरिएको खण्डमा राजस्व समेत बढने थियो । कम्पनीले यतिखेर प्रति के.जी ३ रुपैयाँका दरले राजस्व सङ्कलन हुने गरेको छ ।
स्थानीय समुदायले सहमति नजनाउँदा जिल्लाका २० वटा सामुदायिक वनमा सल्लाका रुखबाट खोटो निकाल्न प्रयत्न भएको छैन । वन बालीलाई प्रयोग तथा उपयोगबाट सम्बद्ध पाल्पाली बनाउने योजना रहेको कारण आउने वर्षमा मापदण्ड पुगेका वनबाट खोटो निकाल्ने डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठ बताउँछन् ।