© २०२३
काठमान्डौ, १४ मंसिर ।
गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिहरूको आधिकारिक वर्गीकरण पूरा भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार हालसम्म कूल १६९ जनाको विवरण संकलन भई वर्गीकरण गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रवक्ता मुक्तिराम रिजालका अनुसार घाइतेहरूको अवस्था दुई चरणमा—मंसिर ५ र मंसिर १२ मा—वर्गीकरण गरिएको हो । असक्त अवस्थामा रहेका घाइतेको हकमा अस्पतालमै गएर अध्ययन गरिएको बताइएको छ ।
चार समूहमा घाइतेहरूको वर्गीकरण गरिएको बताउँदै उनले अतिगम्भीर घाइतेको सूचीमा १५, गम्भीर घाइतेको सूचीमा ५१, मध्यममा ३६ र सामान्य घाइतेको सूचीमा ६७ जना रहेका जानकारी दिए ।
प्रशासन कार्यालयमा आउन कठिनाई भएका घाइतेहरूलाई एम्बुलेन्समार्फत ल्याइ वर्गीकृत गरिएको पनि उनले जानकारी दिए । प्रजिअको संयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ का आधारमा हालसम्म १६९ जनाको वर्गीकरण गरेको हो ।
प्रशासन कार्यालयले वर्गीकृत सूची स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पठाउनेछ । मन्त्रालयले सोही आधारमा आवश्यक सेवा–सुविधा, उपचार सहयोग तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाबारे निर्णय गर्ने जनाइएको छ ।
जेनजी प्रदर्शनका लागि प्रारम्भमा प्रशासनले ३१५ जनालाई अनुमतिपत्र जारी गरेको थियो ।