© २०२३
बुटवल, १४ मङ्सिर ।
विप्लव नेतृत्वको नेकपा (माओवादी) समर्थित विद्यार्थी सङ्गठन अखिल (समाजवादी) बुटवल बहुमुखी क्याम्पसको आयोजनामा ‘म स्वस्थ, क्याम्पस स्वस्थ र देश स्वस्थ’ भन्ने मूल नारासहित प्राथमिक उपचारका लागि आधारभूत स्वास्थ्य तालिम सम्पन्न भएको छ ।
विद्यार्थीहरूमा स्वास्थ्य सचेतना र व्यावहारिक सीप अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सङ्गठनका इकाई संयोजक विष्णु लम्सालले जानकारी दिए ।
नेकपा (माओवादी) रुपन्देही जिल्ला सचिव वीरेन्द्र सीले उद्घाटन गरेको कार्यक्रममा जनपत्रकार सङ्गठनका पूर्व केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, क्याम्पसका निमित्त प्रमुख डा. दुर्गा भुसाल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. नवीन तिरुवा, अखिल (समाजवादी) लुम्बिनी प्रदेश सह–इन्चार्ज विष्णुबहादुर राउत ‘विज्ञान’ तथा जनस्वास्थ्य अधिकृत अरविन्द चन्दको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै विद्यार्थी नेता विज्ञान राउतले जेन–जेड आन्दोलनपछि अन्य विद्यार्थी सङ्गठन क्याम्पसमा सहज रूपमा गतिविधि गर्न नसकिरहँदा अखिल (समाजवादी) ले आत्मनिर्भर अर्थतन्त्र र नयाँ बहससहित स्वास्थ्य शिविरजस्ता रचनात्मक कार्यक्रम अघि बढाएको बताए ।

उनले प्राविधिक सीप र व्यावहारिक ज्ञान सँगै जोडिने कार्यक्रम हरेक क्याम्पसमा सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
जनपत्रकार सङ्गठनका पूर्व अध्यक्ष प्रकाश डुम्रेले विद्यार्थीको रचनात्मक तथा प्राविधिक ज्ञान अभिवृद्धिका लागि आफूले लेखन तथा सीपमार्फत सहयोग गर्ने आश्वासन दिए ।
क्याम्पसका निमित्त प्रमुख डा. दुर्गा भुसालले विद्यार्थी सङ्गठनहरूले व्यावहारिक तथा प्राविधिक शिक्षा प्रवर्द्धनमा निरन्तर सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउँदै तालिमलाई प्रेरणादायी बताए ।
त्यसै गरी जिल्ला सचिव वीरेन्द्र सी ले नेकपा (माओवादी) निरन्तर कृषि उत्पादन, सीपमूलक शिक्षा र व्यावहारिक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै सङ्गठनले सुरु गरेको स्वास्थ्य तालिमलाई सकारात्मक पहलका रूपमा व्याख्या गरे ।
स्त्री रोग विशेषज्ञ डा. नवीन तिरुवाले महिनावारीका बेला महिलाले भोग्ने शारीरिक समस्या तथा समाधानका उपायबारे विस्तृत जानकारी दिए । जनस्वास्थ्य अधिकृत अरविन्द चन्दले करिब ३०० विद्यार्थीबिच प्रयोगात्मक रूपमा प्राथमिक उपचार र रक्तचाप मापनसम्बन्धी तालिम प्रदान गरेका थिए ।
कार्यक्रमको समापन गर्दै संयोजक विष्णु लम्सालले आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा र सीपमूलक रचनात्मक गतिविधि निरन्तर अघि बढाइने जानकारी गराए ।
साथै, तालिममा योगदान पु¥याउने डा. नवीन तिरुवा, जनस्वास्थ्य अधिकृत अरविन्द चन्द तथा अन्य स्वास्थ्यकर्मीलाई सम्मान पत्र प्रदान गरिएको विद्यार्थी नेता विज्ञान राउतले जानकारी दिए । तालिममा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको आयोजकले जनाएको छ ।