Butwal Today

हेक्का रहोस्, देश जादुको छडीले चल्ने चीज होइन : रक्षा बम

१४ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, १४ मंसिर ।

जेनजी आन्दोलनकी अगुवा रक्षा बमले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र तत्काल संविधान संशोधनको प्रस्तावसहित सार्वजनिक भएको विवादित ‘ड्राफ्ट’लाई अलोकतान्त्रिक र खतरनाक हस्तक्षेप भन्दै कडा आपत्ति जनाएकी छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बमले विगत केही सातादेखि स्वार्थप्रेरित समूहका व्यक्तिहरूद्वारा तयार गरिएको भनिने उक्त प्रस्ताव संविधान संशोधन प्रक्रियाको मूल मर्मविपरीत रहेको बताएकी हुन् ।

‘संविधान संशोधनजस्तो संवेदनशील विषय दबाबमार्फत अघि बढाउन खोज्नु अस्वीकार्य छ,’ बमले लेखेकी छन् । उनी भन्छिन्, ‘हामी संविधान पुनरावलोकनका पक्षमा छौँ, तर त्यस्तो परिवर्तन जनताको स्पष्ट म्यान्डेट बिना सम्भव हुँदैन ।’

बमका अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारीजस्ता एजेन्डा अघि सार्न चाहनेहरूले जनतासामु आफूले तयार पारेको नीति र प्रस्ताव प्रस्तुत गरी चुनावी घोषणापत्रमार्फत जनसमर्थन लिनुपर्छ । ‘त्यही लोकतान्त्रिक बाटो हो,’ उनले स्पष्ट पारिन् । संक्रमणकालीन जटिलताबीच संविधानका आधारभूत मर्मलाई आघात पुग्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताउँदै उनले भनिन्— ‘देश जादुको छडीले चल्ने वस्तु होइन । यसलाई चलाउन विधिको शासन, लोकतान्त्रिक मूल्य–मान्यता र जनपक्षीय सहभागिता अनिवार्य हुन्छ ।’

बमले प्रत्यक्ष कार्यकारीसहितका विषयमा व्यापक राष्ट्रिय संवाद आवश्यक रहेको उल्लेख गरिन् । उनले थपिन्, ‘हामी संविधान पुनरावलोकनका पक्षमै छौँ, तर त्यसका लागि जनादेश अपरिहार्य छ । प्रत्यक्ष निर्वाचित प्रणाली ल्याउन चाहने जो कोहीले पनि घोषणापत्रमा एजेन्डा राखेर भोट माग्न सक्छन् । यही लोकतान्त्रिक अभ्यास हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?